झापा: जुलाई २०२४ मा फ्रान्समा हुने ओलम्पिकका लागि दक्षिण एसियाली ओलम्पिक छनौट प्रतियोगिता नेपालमा हुने भएको छ। सो छनौट प्रतियोगिता वैशाख ३१ देखि जेठ २ (मई १३-१५)सम्म हुनेछ। छनोट प्रतियोगितामा नेपालका तर्फबाट संयोग कपाली, सान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले प्रतिनिधित्व गर्ने मुख्य प्रशिक्षक राजेन्द्र कपालीले बताए। नेपालको मुख्य चुनौती भनेको श्रीलंकाका खेलाडी रहने भएकाले सो अनुसार तयारी गरिएको प्रशिक्षक कपालीले बताए। छनोटमा नेपालसँगै बगंलादेश, मालदिभ्स, पाकिस्तान र श्रीलंकाबाट समान २ महिला र पुरुष खेलाडी गरि २० खेलाडीले सहभागिता जनाउने छन्।
छनोट प्रतियोगिताबाट पुरुष १ र महिला १ खेलाडीले फ्रान्समा हुने ओलम्पिक खेलको लागि छनौट गरिनेछ। एसियाबाट ६ देशले सहभागिता जनाउने भए पनि भारतबाट यसअघि नै खेलाडी छनोट भइसकेका छन्। नेपालमा पहिलो पटक ओलम्पिकको छनोट हुन लागेको हो। प्रतियोगितामा खाना तथा बसोबासको व्यवस्था “नेपाली घर” ले गरेको छ। नेपाली घरले करिब ५ लाख रुपियाँ बराबरको प्रायोजन गरेको छ। प्रतियोगिता गर्न करिब १० लाख रुपियाँ लाग्ने अनुमान छ। छनोट प्रतियोगिता राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौर कबर्ड हलमा हुनेछ।









