झापा: सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय परियोजनाको सुरुङ १८ महिनामै ‘ब्रेक थ्रु’ भएको छ। टीबीएम मेसिनबाट २०७९ असोज अन्तिममा शुरु गरिएको सुरुङ छोटो समयमै अगाडि बढ़ाइएको हो। मेसिनले १८ महिनामा १३ किलोमिटर सुरुङ खनेसँगै बुधबार ब्रेक थ्रुको समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल समेत सहभागी भए। टीबीएम मेसिनका उपकरण विभिन्न देशबाट भित्र्याई जडान गरिएको थियो। आयोजना आर्थिक वर्ष २०७३/०७४ मा शुरु भए पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ४ मार्च २०२१ (२०७७ फागुन २०) मा शिलान्यास गरेका थिए। सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको जिम्मा पाएको चाइना ओभरसिजले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना पनि लक्ष्यभन्दा एक वर्षअगाडि नै पूरा गरेको थियो।
प्रधानमन्त्री दहालले सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्। आज आयोजनास्थलमा अनुगमनका क्रममा सुनकोसी गाउँपालिकामा ब्रिफिङ लिएपछि प्रधानमन्त्री प्रचण्डले आयोजनाका आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै सल्टाउन निर्देशन दिएको हो।
‘बहुउद्देश्यीय आयोजना ठूलो कार्यक्षेत्र भएकाले विभिन्न समस्या आउन सक्छन्’, प्रधानमन्त्री प्रचण्डले भने , ‘समयमा नै समस्याको पहिचान गरी समाधान गर्दै जाने सोच, कार्ययोजना र पूर्वतयारीको व्यवस्था गर्नु पर्नेछ।’ उनले आयोजना समयमै सम्पन्न गरी लगानीको प्रतिफल पनि समयमै प्राप्त गर्ने गरी काम गर्न निर्देशन दिए। प्रधानमन्त्री दहालले आयोजनामा राम्रो काम गर्ने कर्मचारीहरूको अभिलेख व्यवस्थित गरी दण्ड र पुरस्कारको ठोस कार्ययोजना निर्माण गर्नसमेत आयोजना प्रमुखलाई निर्देशन दिए। निर्माण कम्पनीले नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिनको माध्यमबाट सुरुङ बनाएको थियो। ५१ महिनामा आयोजना सक्ने सम्झौता छ। १३.३ किलोमटर सुरुङ मार्ग २ वर्षभित्र काम सकिनेछ। चिनियाँ कम्पनीलाई चाइना ओभरसिजलाई सुरुङमार्ग निर्माणको लागि ११ अर्ब २९ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो।
सिन्धुलीको खुर्कोट बजारदेखि करिब २ किलोमिटर माथि र सुनकोसी–तामाकोशीको दोभानदेखि करिब ९५० मिटर तल बाँध निर्माण गरिनेछ। सुनकोसीको पानि सुरुङ मार्गबाट ६७ क्युमेक (क्युबिक मिटर प्रतिसेकेन्ड) पानी मरिन खोलामा खसालिनेछ। त्यहाँबाट ३१ मेगावाट विद्युत् उत्पादन हुने अनुमान छ। सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाले प्रदेश २ का बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा जिल्लाहरुका थप क्षेत्रसमेत कुल १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभर सिँचाइ उपलब्ध गराउनेछ। सिँचाइको काम ३ चरणमा सम्पन्न हुनेछ। हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिँचाइ हुँदै आएको छ। सुनकोसी–मरिन डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ। \