मुम्बई: अभिनेत्री हुमा कुरैशी कोर्टरूम कमेडी फिल्म ‘जोली एलएलबी’ सिरिजको तेस्रो फिल्ममा पुष्प पाण्डेको भूमिका दोहोर्याउन लागेकी छिन्। हालै अभिनेता अक्षय कुमार र अरशद वारसीले फिल्म ‘जोली एलएलबी ३’ को सुटिङ शुरु गरेका छन्। वारसीले २०१३ मा रिलिज भएको ‘जोली एलएलबी’ मा जगदीश त्यागी उर्फ जोलीको भूमिका निभाएका थिए भने २०१७ मा रिलिज भएको यो सिरिजको दोस्रो फिल्म ‘जोली एलएलबी २’ मा अक्षयले जगदीश्वर मिश्राको भूमिका निभाएका थिए। हुमा कुरेशीले ‘जोली एलएलबी २’ मा जगदीश्वर मिश्रकी पत्नी पुष्पा पाण्डेको भूमिका निभाएकी छिन्। अभिनेत्रीले मंगलबार साँझ आफ्नो इन्स्टाग्राममा ‘पुष्पा पाण्डे इज ब्याक’ क्याप्सन लेखेर यो जानकारी दिएकी हुन्।
फिल्मको अन्तिम दुई भागमा अक्षय कुमार र अरशद वारसीको साथमा जस्टिस सुन्दरलाल त्रिपाठीको भूमिका निभाएका सौरभ शुक्ला पनि फिल्मको तेस्रो भागमा देखिनेछन्। ‘जोली एलएलबी ३’ लाई सुभाष कपुरले निर्देशन गरेका हुन् भने स्टार स्टुडियो र कांगडा टकीजले निर्माण गरेका हुन्। कुरैशी हालै फिल्म ‘तरला’ र उनको हिट सिरिज ‘महारानी’ को तेस्रो सिजनमा पनि देखिएकी थिइन्। उनको आगामी फिल्म ‘पूजा मेरी जान’ हो, जसमा उनले मृणाल ठाकुरसँग अभिनय गरेकी छिन्।