गान्तोक: आरिटार निवासी एक युवतीले बेग्लोरमा आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतकको परिचय अलिना सुनारकोरूपमा चिन्हित भएको छ। उनी गत पाँच वर्षदेखि बेंग्लोरको एक पार्लरमा कार्य गर्दै आइरहेकी थिइन्। उनको आत्महत्याको कारण तनाव रहेको जान्नमा आएको छ। मृतक धेरै दिनदेखि तनावग्रस्त रहेकी थिइन्। यस घटनाको सूचना पाउनसाथ मुख्यमन्त्री तामाङले राज्यका डीजीपीलाई यस विषयमा तुरन्त जाँच गर्ने आदेश दिएका थिए। यसका साथै उनको शव राज्यमा ल्याउनको निम्ति पहल शुरू गरिनु पर्ने मुख्यमन्त्रीले डीजीपीलाई निर्देश दिएका थिए। उनको शव राज्यमा ल्याउनको निम्ति सबै खर्च राज्य सरकारले व्योहोर्ने पनि जानकारी प्राप्त भएको छ। उनको शवसँगै अभिभावकलाई हवाइ जहाजको माध्यमद्वारा राज्यमा ल्याउने सम्पूर्ण भार राज्य सरकारले लिएको छ। शवलाई राज्यमा ल्याउने पहलबारे राज्यका डीजीपीले बेंग्लोरका कमिश्नर अफ् पुलिससँग कुराकानी गरिसकेको र बेग्लोर पुलिसले पनि सबै प्रकारको सहयोग प्रदान गरेको बताइएको छ। आज उनको शव सिलगढी ल्याइयो भने त्यहाँ सिक्किम पुलिसका जवानहरूलाई तैनाथ गरिएको थियो।बेग्लोरबाट हवाइ जहाजको माध्यमद्वारा सोझै सिलगढीस्थित बागडुग्रा हवाइ अड्डामा उनको शव ल्याइयो। सिलगढीदेखि अब उनको शव पैतृक थलो आरिटारस्थित किङस्टोन लगिने भएको छ।यसरी राज्य सरकारले बेंग्लोरबाट शव ल्याउनको निम्ति सबै कुराको प्रबन्धन गरिदिएकोमा पीडित परिवारले मुख्यमन्त्री प्रेम सिंह तामाङलाई धन्यवाद दिँदै कृतज्ञता प्रकट गरेका छन्।