जलपाईगढी: सिटुसँग आबद्ध पश्चिम बंगाल विद्युत सहायक कर्मी युनियनका आठ सदस्यलाई कामबाट बर्खास्त गरी युनियनको पहलमा पुनः काममा लगाइएको अर्थात् काममा कायम राख्ने निर्णय भएको छ। हिजो डिभिजनल म्यानेजरसँग छलफल गरेपछि आज बिहान काममा जुट्न गएपछि ठेकेदार कम्पनीका सञ्चालकले पुनः काममा आउन रोक लगाएको बताइएको छl पछि पश्चिम बंगाल विद्युत सहायक कर्मी युनियनले सदय कम्पनीका डिभिजनल म्यानेजरसँग कुरा गर्यो। डिभिजनल म्यानेजरको हस्तक्षेपमा आठै जना कर्मचारी काममा लागे। काममा फर्किएका विद्युत रोय र मिथुन साहले संगठनको ब्यानरमा एकजुट भएर लडेकाले यो लडाई जित्न सफल भएको बताए। उनीहरुले भने, ‘अन्तिम घडीसम्म उनीहरूले हामीलाई काममा आउन नदिने प्रयास गरे तर सकेनन्।‘ संगठनक सचिव रजनी रायले अनैतिक बहिष्कार विरुद्ध संगठन यी मजदुरको साथमा रहेको र मजदुरले ठूलो लडाइ जितेको बताइन्। संगठनका अध्यक्ष मिन्टु नन्दीले सरुवा र छुटको कार्य श्रम कानुनविपरीत भएको र यसरी सरुवा गर्न नसकिने बताए। उनले भने, ‘ठेकेदारले जबरजस्ती गर्न खोज्यो। यो जित एकताबद्ध संघर्षबाट प्राप्त भएको हो।‘