नेपालीको आयु बढ्यो, औसत ७१.३ वर्ष बाँच्छन्

Life

झापा: एक दशकअघिको तुलनामा नेपालीको औसत आयु झन्डै पाँच वर्ष बढेर ७१ वर्षभन्दा बढी पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले भर्खरै मात्र सार्वजनिक गरेको जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरूले नेपालीको औसत आयु ७१.३ वर्ष पुगेको देखाएका हुन्। नेपालीको औसत आयु ०७८ मा ६६.६ र ०५८ मा ६०.४ वर्ष थियो। औसत आयु बढ्नुमा स्वास्थ्य प्रणालीमा भएको सुधार, सचेतना, बालबालिकाले पाइरहेको पोषण र जन्मेदेखि हुर्किंदासम्म पाउने लालनपालनले समेत ठूलो भूमिका खेलेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

औसत आयु झन्डै साढे ७१ वर्ष रहे पनि पुरुषभन्दा महिला करिब साढे ५ वर्ष बढी बाँच्ने प्रतिवेदनले देखाएको छ। ०७८ को जनगणनाअनुसार पुरुषको औसत आयु ६८.२ वर्ष र महिलाको ७३.८ वर्ष छ। ०६८ को जनगणनाले पुरुषको औसत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको देखाएको थियो। ०३८ सालमा पुरुषको तुलनामा महिलाको औसत आयु कम थियो। पछिल्लो ५० वर्षमा यस प्रवृत्तिमा व्यापक परिवर्तन आई महिलाको औसत आयु बढी देखिएको छ। महिलाको तुलनामा पुरुषको आयु कम हुनुमा पछिल्लो दशकमा नेपालले भोग्नुपरेका प्राकृतिक तथा कोरोना महामारीको मृत्युदर पुरुषको बढी हुनु रहेको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए। ‘महिलाको तुलतामा दुर्घटनामा बढी पुरुष परेको देखिनु, मदिरा र लागुऔषध सेवनको मारमा पुरुष बढी देखिनु तथा विदेश जाने संख्यामा पुरुष बढी हुँदा कार्यक्षेत्रमा हुने दुर्घटनाले समेत पुरुषको मृत्युदर बढी देखाएको छ,’ उनी भन्छन, ‘जन्मेदेखि नै शिशु र बाल मृत्युदरमा छोरीको तुलनामा छोराको मृत्युदर बढी देखिन्छ। यसको प्रभाव औसत आयुमै देखिएको हो।’ पछिल्लो ५० वर्षमा नेपालीको औसत आयु साढे २१ वर्षले बढेको छ। कार्यालयका अनुसार ०३८ सालको जनगणनामा औसत आयु ४९.८ वर्ष देखिएको थियो।  स्रोतका अनुसार प्रतिहजार जीवित जन्ममा एक वर्ष उमेर नपुग्दै मुत्यु हुने शिशु संख्या १७ छ। नेपालको जनसंख्या वृद्धिदर पनि निरन्तर घट्दै गएको प्रतिवेदनले देखाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement