झापा: तीन दिनदेखि अवरुद्ध मोरङ जिल्लाको मनमोहन गान्धी मार्ग अझै पनि सञ्चालनमा आउनसकेको छैन। मोरङको पथरी शनिश्चरे नगरपालिका हुँदै दक्षिण भारत जोड्ने सडकको काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयले पथरी शनिश्चरे – ९ स्थित महेन्द्रचोकमा सडक अवरुद्ध गरेका थिए। ह्युम पाइप, ढुङ्गा र काठलगाएर सडकअवरुद्ध गरिएको र निर्माणको काम फेरि शुरु हुने सुनिश्चितता नहुँदासम्म अवरोध कायमै रहने सडक संघर्ष समितिका सहसंयोजक सुमन वनेमले द रिपब्लिक इण्डियनलाई बताए। यसअघि संघर्ष समितिले गत मंगसिर १३ मा पनि सडक अवरुद्ध गरेको थियो। निर्माण कम्पनीका प्रतिनिधि दीपक थिङले तीन महिनाभित्र काम सम्पन्न गर्ने सहमतिपछि त्यस समय सडक सञ्चालन गर्न दिइएकामा सो सहमति कार्यान्वयन नभएकाले पुनः अवरोध गर्नुपरेको वनेमले जानकारी दिए।
पथरीशनिश्चरेस्थित २५ किलोमिटर लम्बाइ र ६० फिट चौडाइ सडक निर्माणको ठेक्का एक करोड ९४ लाख ९४ हजारमा कान्छाराम कन्स्ट्रक्सन कम्पनीले पाएको छ। निर्माण कम्पनीले करिब दुई वर्षदेखि सडक निर्माणको काम नगर्दा स्थानीय आक्रोशित छन्। निर्माण कम्पनीको ढिलासुस्तीका कारण मनमोहन गान्धी सडकमा पर्ने मोरङ पथरी शनिश्चरेको वडा नम्बर ६, ८, ४, ९ र १० का स्थानीयवासीले सास्ती खेप्नुपरेको भन्दै स्थानीयवासीले संघर्ष समिति गठन गरी सडक निर्माण गर्न दबाब दिँदैआएका छन्।