न्यूयोर्क: विश्व भुटानी हिन्दू संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिको आयोजनामा ओम सेन्टर दिव्यधाम ओहायोमा ऐतिहासिक प्रथम विद्वत् धर्मसभा सम्पन्न गरेको छ। उक्त धर्म सभामा वासुदेवशरणजी महाराज, स्वामी केशावाचार्यजी, स्वामी दामोदराचार्यजी, स्वामी श्रीकृष्ण प्रपन्नजी तथा क्यानाडाबाट स्वामीसुदर्शनाचार्यजी र डा. खेमप्रसाद नेपालको उपस्थिति रहेको थियो। यसका साथै अमेरिकाको १० वटाभन्दा बढी शहरहरूबाट एकसय भन्दा धेरै गुरु, पुरोहित, पण्डित, आचार्य, विद्वान्, विदुषीहरू एवं समाजका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
दीप प्रज्ज्वलनसँगै उपस्थित गुरुजनले स्वस्तिवाचन गरी सुरु गरिएको उक्त धर्मसभामा संस्थाका उपाध्यक्ष आचार्य श्रीखिम खतिवडाले स्वागत गरेका थिए। यसरी नै यस सभाको अध्यक्षता संस्थाका अध्यक्ष कमल धिमालले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका बोर्ड चियर नारद अधिकारीले गरेका थिए। समाजकै वयोवृद्ध विद्वान् प० श्रीपद्मनाभ (पशुपति) खनालको प्रमुख आथित्यमा भएको कार्यक्रममा संस्थाको वैदिक निर्णायक समितिका संयोजक प० श्रीहरि फुयालले धर्मसभाको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए। अध्यक्ष श्रीकमल धिमालले विगत र वर्तमानमाथि चर्चा गर्दै विभिन्न चुनौती र अवसरहरूका विषयमा प्रेजेन्टेसनका माध्यमबाट स्पष्ट पारेका थिए। उनले विश्व भुटानी हिन्दू संगठनको वर्तमान कार्ययोजनामाथि प्रकाश पार्दै ओम सेन्टर दिव्यधामको आवश्यकता, स्थापना र यसका भावि योजनाका सम्बन्धमा पनि प्रेजेन्टेसनका माध्यमबाट स्पष्ट पारेका थिए।
पुनर्वासपछि विभिन्न राष्ट्रमा छरिएर रहेका वैदिक धर्मावलम्बी नेपालीभाषी भुटानीहरू कसरी एक भएर हाम्रा धरोहर– भाषा, धर्म, संस्कार, संस्कृतिलगायत विभिन्न स्थानहरूमा स्थापित मठमन्दिरहरूको संरक्षण र संवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मञ्चासीन सम्पूर्ण स्वामीहरू तथा विद्वज्जनले आ–आफ्ना विचार प्रस्तुत गरेका थिए। धर्मसभाले विभिन्न निर्णयहरू पनि गरेको छ। धर्मसभामा विभिन्न सम्प्रदायका स्वामीजी महाराजहरू, विद्वान् विदुषीहरू र यसका अनुयायीहरूले आआफ्नो सम्प्रदायको अस्तित्वलाई कायम राखी एकअर्कालाई सम्मान, सहयोग र सद्भावका साथ वैदिक सनातन धर्मको संरक्षण, संवर्द्धन र विकासका लागि एक भएर अघि बढ्ने निर्णय भएको छ।
हाम्रो वैदिक सनातन धर्मका अनुयायीहरूका घर–घरमा, समाजमा र विभिन्न संगठनहरूमा उठेका प्रश्नहरू र धर्मअन्तर्गत छाएका अन्योलतालाई निकास दिनुका साथै देश, काल र परिस्थितिअनुरुप हाम्रा युवा पुस्तालाई धर्मको मर्म एवं भावनालाई बुझाउँदै र सिकाउँदै अघि जान विश्व भुटानी हिन्दू संगठनअन्तर्गत रहेको वैदिक निर्णायक समितिले यस वैदिक विद्वत् धर्मसभाबाट पूर्णता पाएको छ।
प० हरि फुयालको संयोजकत्वमा गठित १५ सदस्यीय समितिले भविष्यमा पनि यस्ता ऐतिहासिक धर्मसभालाई निरन्तरता दिने र समितिले आवश्यकता अनुसार समय–समयमा विद्वत् धर्मसभाको आयोजना गर्दै जाने भएको छ। समाजमा उठ्न सक्ने विभिन्न प्रश्न एवं जिज्ञासाहरूको समाधान गर्न शास्त्रीय प्रमाणसहित उपयुक्त पहल गर्ने सर्वसम्मतिले निर्णय गरेको छ। विश्व भुटानी हिन्दू संगठनले केही महिना अगाडि घोषणा गरेको २०२५ मा हुने विश्व शान्ति महायज्ञमा यस धर्मसभामा सम्पूर्ण उपस्थित स्वामी, महाराज, आचार्य, पण्डित एवं पुरोहितहरूको सहमति र सहयोग गर्ने र ऐतिहासिक यज्ञलाई सफल पार्ने निर्णय गरिएको छ। उक्त महायज्ञमा १०८ श्रीमद्भागवत महापुराण, चार वेद र अन्य विभिन्न धर्मग्रन्थहरूको समेत पाठपाराण तथा संगीतमय कथा प्रवचन हुने भएको छ। यसै सामुहिक महायज्ञमा पञ्च कुण्डीय हवन, एक करोड दिप प्रज्ज्वलन र १०८ शङ्खनाद समेत गरिने निर्णय भएको छ। यस धर्मसभामा उपस्थित स्वामी केशावाचार्य, स्वामी दामोदराचार्य, श्रद्धेय स्वामी कृष्णप्रपन्न, स्वामी रामानुजाचार्य तथा क्यानाडाबाट स्वामी सुदर्शनाचर्यलाई विश्व भूटानी हिन्दु संगठनले ‘धर्म–संवाहक’ उपाधिले अभिनन्दन गर्नुका साथै संस्थाको सम्मानार्थ सदस्यता समेत प्रदान गरेको छ।
वासुदेवशरण महाराज, स्वामी वासुदेवाचार्य, स्वामी गोविन्दाचार्य, स्वामी भागवताचार्य, स्वामी कृष्ण प्याकुरेल, पण्डित शिवप्रसाद पोख्रेल, पण्डित महेश्वर रेग्मी, र वयोवृद्ध विद्वान् प० श्रीपद्मनाभ खनाललाई यस अघि नै अभिनन्दनका साथ सम्मानार्थ सदस्यता प्रदान गरिएको कुरा संस्थाका अध्यक्षले जानकारी गराएका थिए। यसका साथै, २०१७ सालदेखि विश्व भुटानी हिन्दू संगठनअन्तर्गत वैदिक निर्णायक समिति र पञ्चाङ्ग निर्माण समितिसँग आबद्ध समाजका विद्वान् तथा विदुषीहरूले दिएको योगदानको उच्च मूल्यांकन गर्दै यस धर्मसभामा सम्मान गरिएको थियो।