झापा: दातृ संस्था एसियाली विकास ब्यांक (एडीबी)ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ। एडीबीको ५७औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलिसिमा रहनु भएका नेपालका अर्थसचिव मधुकुमार मरासिनीसँगको ‘साइड लाइन’ वार्तामा एडिबी अध्यक्ष मासात्सुगु आसाकावाले सो प्रतिबद्धता जनाए। त्यसअघि सचिव मरासिनीले जलवायु परिवर्तनमा नगण्य योगदान भए पनि नेपाल त्यसबाट उच्च प्रभावित मुलुकको सूचीमा रहेकाले त्यससँग जुध्न सहयोग बढाउन प्रस्ताव गरेका थिए। सो क्रममा अध्यक्ष मासात्सुगुले नेपाललाई जलवायु परिवर्तनका नकारात्मक प्रभावसँग जुध्न सहयोग बढाइने बताएको हो।
भेटका क्रममा सचिव मरासिनीले विकास वित्तको कमी पूरा गर्न थप सहयोगका लागि पनि आग्रह गरेका थिए। त्यस्तै उनले अर्थमन्त्री वर्षमान पुनका तर्फबाट अध्यक्ष मासात्सुगुलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिएका थिए। प्रतिउत्तरमा अध्यक्ष मासात्सुगुले एडीबीले नेपाललाई प्राथमिकतामा राखेकाले उपयुक्त समयमा नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका थिए। नेपाली प्रतिनिधिको टोलीले सो क्रममा एडीबी उपाध्यक्ष इङ्गमिङ्ग याङ्गसँग पनि भेट गरेको थियो। त्यस क्रममा नेपालमा निजी क्षेत्रको विकास, निजी लगानी विस्तार, पोर्टफोलियो कार्यान्वयनमा सुधार, पाइपलाइनमा रहेका विकास आयोजना मुख्य गरी जलाशययुक्त दुधकोशी जलविद्युत् आयोजना, मेलम्ची खानेपानी आयोजना र बजेटरी सहायताका कार्यक्रमहरू समयमै सम्पन्न गर्नेबारे सहमति भएको अर्थ मन्त्रालय सहसचिव श्रीकृष्ण नेपालले जानकारी दिए। उनका अनुसार सहुलियतपूर्ण स्रोत परिचालन बढाउन कार्यान्वयन क्षमतामा सुधार गर्नुपर्ने तथा जलवायु वित्तमा पहुँच बढाउन दुवै पक्षले सहकार्य गर्ने समझदारी भएको थियो। उपाध्यक्ष याङ्गले विश्व ब्यांकसँगको सहकार्यमा तयार भइरहेको कन्ट्री साझेदारी फ्रेमवर्क अन्य देशका लागि समेत नमुना हुनसक्ने बताए।









