झापा: झापाको गौरीगञ्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएका महेशकुमार महतोको परिवारलाई पाँच लाख ५० हजार रुपियाँ राहतस्वरूप दिने निर्णय भएको छ। गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो। गौरीगञ्ज–६ का वार्ड अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता बद्रीनारायण यादवले राहतस्वरूप पाँच लाख र किरिया खर्च ५० हजार रुपियाँ पीडित परिवारलाई दिने कार्यपालिका बैठकले निर्णय गरेको जानकारी दिए।
गौरीगञ्ज–६ खजुरगाछी निवासी रामदेव महतोको छोरा ११ वर्षीय महेशकुमार महतोको उपचारका क्रममा शुक्रबार मृत्यु भएको थियो। शुक्रबार बिहान अन्दाजी ६ बजे झाडापखाला लागेपछि उनलाई उपचारका लागि गौरीगञ्ज अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सक तथा कर्मचारीको लापरवाहीका कारण मृत्यु भएको पीडित परिवारले आरोप लगाएका थिए। पीडित परिवार, आफन्त र स्थानीहरूले अस्पतालमा दिनभर विरोध प्रदर्शन गर्नुका साथै दिनभर ढुङ्गामुढा गरेका थिए। अस्पतालको झ्यालको सिसा, ढोका तथा अस्पतालले प्रयोग गर्ने सर्भर तथा अन्य भौतिक संरचनामा लाखौँको क्षति पुगेको छ। गाउँपालिकाकी अध्यक्ष फूलबती राजवंशीको रोहवरमा अस्पताल व्यवस्थापन समिति र पीडित परिवारबीच सहमति भएपछि मृतकलाई पोस्टमार्टमका लागि धरान लगिएको थियो।










