गौतमबुद्ध इन्टरनेशनल एयरपोर्ट चलाउन व्यवस्थापनका दर्जन प्रस्ताव

IMG-20240506-WA0010

झापा: रुपन्देही जिल्लाको  भैरहवास्थित गौतमबुद्ध इन्टरनेशनल एयरपोर्टबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक पहलका विषयमा विमानस्थल व्यवस्थापनले झन्डै एक दर्जन सुझाव प्रस्तुत गरेको छ। राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा विमानस्थल महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रस्तुत गरेको रिपोर्टमा ती सुझाव दिइएको हो। व्यवस्थापनका तर्फबाट यो विमानस्थल नियमित सञ्चालन विषय समग्र मुलुकको संयन्त्रसँग जोडिएको भन्दै पर्यटन, अर्थ, स्वास्थ्य, उद्योग र परराष्ट्र मन्त्रालयको भूमिका बढी रहने उल्लेख गरिएको छ। यहाँ जडान भएको ‘आईएलसए’ (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम अप्रोच) लाई भारतको अनुमति प्राप्त हुन नसक्दा सञ्चालन गर्न सकिएको छैन। यो सञ्चालनमा आउन नसक्दा न्यूनतम १ हजार ८ सय मिटर भिजिबिलिटीमा मात्र उडान/अवतरण हुने गरेको छ।

यसले हिउँदमा लामो सयम उडान हुनसकेको छैन। यसको विकल्पमा भूउपग्रहमा आधारित ‘आरएनपी–एआर’ (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) अप्रोच विधि अपनाउन उपयुक्त हुने सुझाव व्यवस्थापनले दिएको छ। यसबाट न्यूनतम १ हजार मिटर भिजिबिलिटीमा समेत जहाज अवतरण गर्नसक्छ। यसका लागि कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरणमा अनुरोधसमेत गरेको महाप्रबन्धक तिवारीले जानकारी दिए। समाचार सूत्रका अनुसार यो विमानस्थलमा काठमाडौंभन्दा कम भाडामा जहाज उडाउन सके यात्रु आकर्षित हुने भन्दै व्यवस्थापनले आगामी आर्थिक वर्षको बजटबाट यस्तो व्यवस्था गर्न सुझाव दिएको छ। चालु आवको बजेटले हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा भाडा महँगो भएको छ। यस विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले ल्यान्डिङ, पार्किङ, नेभिगेशसन, सेक्युरिटी चार्जमा छुट दिइसकेको छ।

साथै, यात्रु सेवा दस्तुर घटाउने, ग्राउन्ड ह्यान्डलिङ दस्तुर घटाउने, इन्धन ढुवानी शुल्क नजोडी मूल्य कायम गर्ने, गौतमबुद्धबाट उडान गर्ने अन्तर्राष्ट्रिय उडानका लागि छिमेकी देशको तुलनामा महँगो नहुने गरी इन्धन शुल्क तोक्नसमेत व्यवस्थापनले सुझाव दिएको छ। यसो भए वायुसेवा कम्पनी आकर्षित हुनेसमेत व्यवस्थापनको भनाइ छ। यस्तै अहिले यो विमानस्थलमा नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालमपुरबाट सातामा एक उडान गरिरहेको छ। यसअघि जजिरा एयरलाइन्सले उडान गरेको भए पनि अहिले बन्द छ। व्यवस्थापनले निगम र हिमालय एयरलाइन्सले चीन, भारत र बुद्धिस्ट देशमा सञ्जाल विस्तार गराउँदा विमानस्थल र उडानसमेत प्रचार प्रसार हुने र अन्य वायुसेवालाई आउन समेत आधार बन्ने प्रस्ताव व्यवस्थापनको छ।

व्यवस्थापनले यो विमानस्थललाई ट्रान्जिट कार्गोका रूपमा विकास गर्न सुझाव दिएको छ। ट्राफिक लोडका कारण नेपाली वायुसेवाले सेवा दिन नसक्ने अवस्थामा अन्य मुलुकका लागि ‘फिफ्थ फ्रिडम राइट’ प्रदान गरी विमानस्थल उपयोग बढाउने नीति पर्यटन मन्त्रालयले लिनुपर्ने सुझाव व्यवस्थापनको छ। यो विमानस्थललाई वाइड बडी जहाजका लागि त्रिभुवन विमानस्थलको विकल्पका रूपमा विकास गर्नसमेत व्यवस्थापनले सुझाव दिएको छ। यसका लागि वायुसेवा निगमले वाइड बडीलाई आवश्यक ग्राउन्ड ह्यान्डलिङ उपकरण र जनशक्ति लैजानुपर्ने सुझाव व्यवस्थापनको छ।

अहिले खाडी मुलुकमा रोजगारीमा जाने यात्रुले मेडिकल परीक्षण काठमाडौंको तोकिएको टेस्ट सेन्टरमा मात्र गर्नुपर्ने बाध्यता छ। यो झन्झटले यसअघि हिमालय एयरलाइन्सले शुरु गरेको उडानसमेत प्रभावित भएको थियो। व्यवस्थापनले भैरहवाको सरकारी अस्पतालबाट परीक्षण गर्नसक्ने व्यवस्थाका लागि स्वास्थ्य तथा विदेश मन्त्रालयबाट सम्बन्धित मुलुकमा पहल गर्न समेत सुझाव दिएको छ। भैरहवामै म्यानपावर कम्पनीको अफिस खोल्न श्रम मन्त्रालयले पहल गर्नुपर्ने समेत सुझाव व्यवस्थापनको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement