झापा: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा हाल देखिएको दबाव अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताए। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग भएको भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सङ्कटोन्मुख छैन, चलायमान पनि हुन नसकेको बताएको हो। ‘अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुनसकेको छैन’, प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको छ।‘ मौद्रिक र वित्तीय नीतिको प्रभावकारी समन्वय गर्नका लागि सरकारले प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले सहकारी समस्या समाधानका लागि पनि सरकारले ठोस निर्णय गर्ने तयारीमा रहेको धारणा राखेका थिए।
नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ। सो अवसरमा चेम्बरले वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्नेलगायतका सुझाव दिएको हो। ‘विगतमा लिएका संकुचित नीतिहरूका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ। व्यापार असहजीकरण, सेयर बजारको सङ्कुचन, घरजग्गा कारोबारमा सुस्ततालगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ’, चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ। अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पत्ति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर छ। आयकर ऐन २०५८ का अधिकांश प्रावधानहरू स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्व देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। यस्तै घरजग्गा खरिद बिक्रीका क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालु नाफाको स्रोतलाई नै मान्यता दिने मालपोत कार्यलयबाट अपनाइएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरको ठहर छ।










