दार्जीलिङ: गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको मुद्दालाई अघि बढाएर लानको निम्ति युवा अनि नारीहरूको एउटा नयाँ जमातलाई अघि ल्याउने कार्य शुरू गरेको छ। गोर्खा जनमुक्ति मोर्चाको गठन गोर्खाल्याण्डकै निम्ति भएकोले गोर्खा जनमुक्ति मोर्चाले यो मुद्दालाई फत्ते गरेरै छोड्नु पर्ने प्रतिवद्धतालाई अझ मजबुती प्रदान गर्न नयाँ युवा अनुहारहरुलाई अघि ल्याएर कार्य गर्नु पर्ने केन्द्रीय समितिले लिएको निर्णय अनुसार आज यसरी युवाहरुको एउटा ठूलो समूह खडा गरेको अध्यक्ष बिमल गुरुङले बताएका छन्। जस्तै परिस्थितिमा पनि पार्टीले बोकेको मुद्दाकै निम्ति यता उती कतै नहल्लिकन् पार्टीमै बस्ने यी युवा अनि नारी कार्यकर्ताहरुले गोर्खाल्याण्डको मुद्दालाई कतै पनि धोखा नदिने बुझेर नै उनीहरुको जमातलाई अघि ल्याउने कार्य गरेको पनि उनले बताएका छन् भने यो फाइनल नभएको र यस्ता कर्मठ जाते र माटोप्रेमी युवा कार्यकर्ताहरुलाई अझै अर्को सभाबाट थपिने कार्य गरिने पनि उनले बताए। दार्जिलिङको मालीधुरामा सम्पन्न भएको आजको सभालाई गम्भिरतापूर्वक लिएर पार्टीको यो नयाँ रणनीति खुलासा गरे पनि गोर्खाल्याण्डको निम्ति युवा अनि नारीहरूको यो नयाँ कमिटी पूर्ण रुपमा गठन भई सकेको छैन। यसको निम्ति अझै एक दुईवटा सभा बस्ने अनि अझ केही नयाँ अनुहारहरु जोडिने उनले बताएका छन्।
सभालाई सम्बोधन गर्दै उनले अझ बताए -“केन्द्रीय समितिमा धेरै फेरबदल गरिनुपर्छ भनेर विगतमा धेरैपल्ट बसेको सभालाई कार्यान्वयनमा ल्याउन केही कदम अघि बढाइएको छ। म अध्यक्ष हुँ, मलाई कतै पनि लाग्दैन यो संगठन फ्याँतुलो छ भनेर र जबसम्म म छु तबसम्म म यो संगठनलाई फ्याँतुलो हुन दिँदिन। संघर्ष र समस्या त मेरो शरीरको अँग हो। समस्या जब आउँछ समाधानको बाटो पनि खुल्छ। धेरै संघर्ष गरेर पनि म थाकेको छुईन, म हारेको छुइन। बिमल गुरुङलाई धेरै कुराले सताउने गरे पनि म पार्टीलाई खस्किन दिन्न। तपाईंहरु जाति र माटोको निम्ति ईमान्दार हुनुहुन्छ भने म रहोस् न रहोस्, यो धर्तीमा गोर्खाल्याण्डको आवाज दबिन दिनु हुँदैन। गोर्खाल्याण्डको आवाज दबियो भने यो जातिलाई गाह्रो पर्नेछ। अब कतिदिन बाँचेर राजनीति गर्छौं होला र। अब आउने नानीहरुको निम्ति हामीले राजनीति गर्नुपर्छ।”
विगतमा आफुमाथि भएको धोखाको स्मरण गर्दै उनले बताए” भोलीको दिनमा राम्रो प्रकारले काम गरेर लाँदा आफ्नै साथी भाईहरु बाट मलाई जस्तो धोखा नहोस्। जुन धोखाले पहाड, तराई, डुवर्स सँगै भारतभरी रहेका गोर्खाहरुको भविष्य खत्तम पार्नेछ। हिजोको दिनमा जातिलाई धोखा दिएर राजनीति गर्नेहरूले आज पनि हामीलाई मिच्ने काम हुँदैछ। तर हामी मिच्नु दिँदैनौं। म अभिभावक हो, मैले कसरी काम गर्नु पर्छ भनेर उदाङ्गो पाराले राजनीति गर्दा म माथी छलकपट भएको छ। त्यसैले सबै उदाङ्गो पारेर काम गर्नु सोंच्नु पर्छ। पक्का एक दिन जातिको निम्ति राम्रो दिन आउँछ। मेरो दिन राम्रो न आओस् तर जातिको निम्ति राम्रो दिन आउनु पर्छ। मलाई त षड्यन्त्र गरेको थियो। अहिले पनि म माथी धेरै षड्यन्त्रहरु छ तर तपाईहरुलाई त गर्दैन। बिमल गुरुङको पार्टी रहनु हुँदैन, बिमल गुरुङको कार्यकर्ताहरुलाई पैसामा किनेर बिमल गुरुङलाई एक्लो बनाएर लानु पर्छ भन्ने राजनीति बिपक्षीहरुले गर्दैछ। हाम्रो कार्यकर्ता अनि प्रतिनिधिहरुलाई फोन गर्दैछ।”

आज चुनिएका युवा युवतीहरुले अब आउने दिनहरुमा के गर्ने भन्ने बिषयमा बोल्दै उनले अझै भने “सबैभन्दा मेन कुरा अब हामीले दिल्लीमुखी कार्यक्रम गर्नुपर्छ। दिल्लीमुखी कार्यक्रम गर्नको निम्ति सही रणनीति तैयार पार्नु पर्छ। दिल्लीलाई झकझकाउनु पर्छ।”
सभालाई पार्टीका अन्य प्रतिनिधिहरुले पनि सम्बोधन गरेका थिए भने सबैले नै अब जातिको मूल मुद्दा गोर्खाल्याण्डको निम्ति नै कार्य गर्नु पर्नेमा जोर दिएका थिए।











