पोर्ट अव् स्पेन: वेष्ट इण्डिज र अमेरिकामा हुने टी२० वर्ल्ड कपलाई आतंकवादी हमलाको धम्की प्राप्त भएको छ। त्रिनिदादका प्रधानमन्त्री कीथ रोलेले यसको खुलासा गरेका छन् जबकि आईसीसी-ले बताएअनुसार, एक जूनदेखि शुरु हुने यस टुर्नामेण्टको सुरक्षाको निम्ति व्यापक र मजबूत योजना बनाइएको छ। टी२० वर्ल्ड कपमा भारतसहित २० वटा टीमले हिस्सा लिइरहेको छ। मीडिया रिपोर्ट्स अनुसार, धम्की वेष्ट इण्डिजलाई प्राप्त भएको छ। वेष्ट इण्डिजमा प्रारम्भिक चरणका केही म्याचहरू बाहेक पूरा सुपर आठ चरण, सेमिफाइनल र फाइनल खेलिनेछ। रोलेले भनेका छन्, यो दुर्भाग्यको कुरा हो कि २१औं शताब्दीमा पनि विश्वमा आतंकवादको खतरा अलग रूपमा कायम छ। उनले कुनै संगठनको नाम नलिए पनि इस्लामिक स्टेटले आफ्नो च्यानलको माध्यमले यस्ता धम्की दिएको थाहा लागेको छ।
आईसीसी-का एकजना प्रवक्ताले भने, टुर्नामेण्टमा प्रत्येकको सुरक्षा हाम्रो प्राथमिकता हो। यसको निम्ति व्यापक अनि मजबूत सुरक्षा योजना बनाइएको छ। हामी आयोजक देशहरूका अधिकारीहरूसँग सम्पर्कमा छौं अनि स्थितिमा निरन्तर नजर राखेका छौं। कुनै पनि थरीको जोखिमबाट बाँच्न सुरक्षाको पोख्त बन्दोबस्त गरिनेछ। यसरी रोलेले भने, कुनै पनि प्रकारको जोखिमको सामना गर्न स्थानीय र क्षेत्रीय स्तरमा हामी तयार छौं। हामी स्थानीय र क्षेत्रीय स्तरमा धेरै खतराहरू प्रति सतर्क छौं। हाम्रो खुफिया अनि अन्य सुरक्षा एजेन्सीहरूले पूरा टुर्नामेण्टको अवधि देशहरू र स्थानहरूमा आबादीको सुरक्षाको निम्ति काम गरिरहेको छ। कुनै पनि अप्रिय घटनालाई रोक्न वेष्ट इण्डिजमा सबै ६ वटा आयोजन स्थलहरूमा पूरा टुर्नामेण्टको अवधि कठोर नजर राखिने उनले बताएका छन्।
वेष्ट इण्डिजमा वर्ल्ड कपका म्याचहरू एण्टीगा र बारमुडा, बारबाडोस, गयाना, सेण्ट लूसिया, सेण्ट भिन्सेण्ट र ग्रानाडा, त्रिनिदाद र टोबेगोमा खेलिनेछ। यसरी अमेरिकामा म्याचहरू फ्लोरिडा, न्यूयोर्क र टेक्सासमा हुनेछ। क्रिकेट वेष्ट इण्डिजले वर्ल्ड कपको फूलप्रूफ सुरक्षा उपाय गरिने दावी गरेको छ। क्रिकेट वेष्ट इण्डिजका सीईओ जनी ग्रेव्सले भने, हामी अधिकारीहरूसँग मिलेर परिस्थितिहरूमाथि नजर राखिरहेका छौं अनि टुर्नामेण्टको सुरक्षाको निम्ति शीर्ष स्तरको बन्दोबस्त गरिनेछ। हामी सबै हितधारकहरूलाई टी२० वर्ल्ड कपको सुरक्षालाई लिएर आश्वस्त गर्न चाहन्छौं। हामीले व्यापक र मजबूत योजना बनाएका छौं।









