दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर

Watermark

काठमाडौं: काठमाडौं उपत्यकासहित देशभरका वन, जंगल र नीजि घरमा आगलागीका घटनाले करोडौंको धनजनको क्षति भइरहेको छ। आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौंको धनमाल जलेर नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ। नेपालमा हरेक तीन–चार वर्षको अन्तरालमा डढेलो र आगलागीले उच्च बिन्दु नाघ्ने गरेको छ। पछिल्ला चार महिनामा पाँच हजार बढी स्थानमा डढेलो र आगलागी घटनामा ७६ जना बढीले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको थियो। त्यस्तै १२ सय ९७ घर जलेको समाचार बाहिरिएको थियो।

नेपाल पुलिस प्रधान कार्यालय पुलिस महानिरीक्षकको सचिवालयका अनुसार आइतबार दिउँसो सल्यान, शारदा नगरपालिका–१० मदनास्थित जुकेनाखोला खरबारीमा लागेको आगो फैलिएर सिद्ध प्राथमिक विद्यालय मदना स्कुलमा समेत आगलागी हुँदा स्कुलभित्र रहेका बेन्च, डेस्क र पुस्तक समेत जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। यसैगरी सल्यान जिल्लाकै कुमाख गाउँपालिका–५ झ्यामबारी गाउँस्थित काफलगेडी सामुदायिक वनमा आइतबार दिउँसो लागेको आगो फैलिएर सोही स्थानका १ वटा घर र ४ वटा गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। क्षतिको विवरण हाल खुलेको छैन्।

रूपन्देही, बुटवल उपमहानगरपालिका–८ सुख्खानगर मिलिगिरी पथस्थित ब्याडमिन्टन हलमा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा हलभित्र रहेको पर्दा, लाइट र टिन पूर्ण रूपमा जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। त्यस्तै, तेह्रथुम, फेदाप गाउँपालिका–२ गम्बु चोक बस्ने ४२ वर्षीय विशाल भण्डारीको कच्ची गोठमा आइतबार राति लागेको आगो फैलिएर गोठ नजिकै रहेको घरमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४३ लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ। सिन्धुली, कमलामाई नगरपालिका–६ गैरी बजार बस्ने प्रर्मिला देवी साहको घरमा रहेको भोला फेन्सी स्टोरमा करेन्ट सर्ट भई गएराति आगलागी हुँदा स्टोर पूर्णरूपमा जलेर करिब एक करोड रुपियाँ बराबरको धनमाल नष्ट भएको छ।

यसैगरि सिरहा, नरहा गाउँपालिका–२ स्थित हिमालय सुगर मिल्स प्रालिको कम्पाउन्डभित्र राखिएको उखुको शिटी (भुषमा) आइतबार राति आगलागी हुँदा करिब २० लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। त्यस्तै, सोमबार बिहान दाङ, राप्ती गाउँपालिका–१ पखापानीस्थित गंज बहादुर बिष्टको जिआर फर्निचरमा आगलागी हुँदा काठ चिर्ने मेसिन लगायतका सामान जलेर करिब ५० लाख रुपियाँ बराबरको धनमाल नष्ट भएको छ। पुलिसले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धामा आवश्यक अनुसन्धान गरिरहेको छ। यद्यपी, लामो समयपछिको वर्षाका कारण गण्डकी, बागमती र कोशी प्रदेश क्षेत्रको केही ठाउँको डढेलो नियन्त्रणमा आएको छ। नासाको मोडिज भूउपग्रहको तथ्यांक हेर्दा पूर्वी र मध्य नेपालसँगै पश्चिममा गण्डकी क्षेत्रको डढेलो थोरै घटेको छ। तर, पश्चिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको डढेलो भने कायमै छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement