बिजनबारी: पीडब्ल्युडीद्वारा हालै मरमत्ति चलिरहेको बिजनबारी रोडको अवस्था अति जीर्ण र जोखिमपूर्ण रहेको भन्दै भोलिदेखि यो रोडमा कुनै पनि वाहनहरू नचल्ने भएको छ। आज स्थानीय लिजाहिल रोडमा दार्जीलिङ पुल बजार खण्ड स्तरीय वाहन चालक कल्याण भातृ संगठनको एक सभापछि उक्त निर्णय लिएको संगठनका सभापति अजय राई, संयोजक रोजर राई अनि दार्जीलिङ बिजनबारी ट्रक चालक संगठन सभापति लाक्पा तामाङले जानकारी गराएका छन्। जबसम्म उक्त बाटो वाहन चल्ने योग्यको हुँदैन तबसम्म आवश्यक वाहन छोड़ेर भोलिदेखि सबै प्रकारका वाहनहरू चलाचल बन्द रहने बताएका छन्। यसको साथै स्थानीय चुङथुङ मेरीबोङ तामसाङ समष्टि सभासद सन्दीप छेत्रीले पनि उक्त बाटो चाँड़ो भन्दा चाँड़ो बनाइनु पर्ने मांग गरेका छन्। उनले यस विषयलाई जीटीएको माध्यमबाट सम्बन्धित निकायसम्म पुरयाउने पनि बताएका छन्।










