काठमाडौं: भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले आफ्ना नेपाली समकक्षी विश्वम्भरप्रसाद श्रेष्ठसँग शनिबार भेट गरी दुई छिमेकी देशका सर्वोच्च अदालतबीचको सहकार्यका विषयमा छलफल गरेका छन्। दुवै प्रधानन्यायाधीशबीच नेपाल र भारतका सर्वोच्च अदालतबीचको सम्भावित सहकार्य र आदानप्रदानका विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए। प्रधानन्यायाधीश चन्द्रचुडको सम्मानमा न्यायाधीश श्रेष्ठले रात्रिभोजको आयोजना गरेका थिए। यसअघि प्रधानन्यायाधीश चन्द्रचुडले यहाँको पशुपतिनाथ मन्दिरको दर्शन गरेका थिए। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका मुख्य न्यायाधीश चन्द्रचुड नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका हुन्। यसअघि शनिबार बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश चन्द्रचुडले बालबालिकाबीचको जटिल सम्बन्ध र ती बालबालिकाले पार गर्नुपर्ने जटिल सामाजिक प्रणालीबारे प्रकाश पारेका थिए।