पञ्जाब किंग्स विरुद्ध सीएसके २८ रनले विजयी

IMG-20240505-WA0253.jpg

धर्मशाला: पाँचपल्टका च्याम्पियन चेन्नई सुपर किंग्स (सीएसके)-ले आईपीएल २०२४-को ५३औं म्याचमा पञ्जाब किंग्सलाई २८ रनले पराजित गऱ्यो। यस जीतको साथै सीएसके-ले ११ वटा म्याचमा १२ पोइण्ट्सको साथ आईपीएल तालिकामा नेट रन रेटको आधारमा तेस्रो स्थान हासिल गऱ्यो। यसरी ११ वटा म्याचमा ८ पोइण्ट्सको साथ पञ्जाब किंग्स चाहिँ आठौं स्थानमा पुग्यो । म्याचमा सीएसके-लाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै स्टार अलराउण्डर जडेजाले पहिला प्रतिकूल परिस्थितिमा ४३ रन बनाउनको साथै पछिबाट ३ वटा विकेट पनि हासिल गरे। यसैकारण जीतको निम्ति १६८ रनको लक्ष्यलाई खेदो गर्दै पञ्जाब किंग्सले ९ विकेटमा १३९ रन मात्र बनाउन सक्यो। यहाँको एचपीसीए स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १६७ रन बनायो। अजिङ्क्य रहाणे केवल ९ रन बनाएर शुरुमै आउट भए पनि कप्तान रुतुराज गायकवाड़ (३२) र डेरिल मिचेल (३०)-ले मिलेर स्कोर ६९ रनसम्म पुऱ्याए। त्यसपछि चाहिँ पञ्जाबका स्पिनर राहुल चाहरले गायकवाड़ र शिवम दुबे (शून्य)-लाई लगातार बलमा आउट गर्दा सीएसके-मा दबाउ सृष्टि भयो। पछिबाट मिचेल र मोईन अली (१७) पनि भटाभट आउट हुँदा जडेजाले जिम्मेवारी लिएर टीमलाई सन्तोषजनक स्कोरसम्म पुऱ्याए। जडेजाले २६ बल खेलेर ३ वटा चौका र २ वटा छक्का लगाए। पञ्जाबका बलरहरूमा चाहर र हर्षल पटेलले सर्वाधिक ३-३ विकेट लिए।

लक्ष्यलाई खेदो गर्दै पञ्जाबको शुरुवात खराब रह्यो अनि जनी बेयरस्टो (७) -को साथमा राईली रुसो (शून्य) दोस्रो ओभरमा आउट भए। त्यहाँबाट ओपनर प्रभसिमरन सिंह (३०) र शशांक सिंह (२७)-ले केही बेर लड़ाइँ गरी स्कोर ६२ रनसम्म पुऱ्याए। शशांक आठौं ओभरमा मिचेल सेण्टनरको शिकार हुनको साथै पञ्जाबले लगातार विकेट गुमाउन थाल्यो। कप्तान सेम कुरेन (७), जितेश शर्मा (शून्य) र अशुतोष शर्मा (३) लगातार आउट हुँदा चेन्नईको काम सजिलो भयो। अन्ततिर हरप्रीत ब्रार (अविजित १७) ले प्रयास गरे पनि टीमलाई जिताउन सकेनन्। चेन्नईका बलरहरूमा जडेजा बाहेक देशपाण्डे र सिमरजीत सिंहले २-२ विकेट लिए। उत्कृष्ट प्रदर्शनको निम्ति जडेजालाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement