कालचिनी: समाजसेवी पासाङ लामाको सहयोगितामा कालचिनी चौपतिमा भगवान बीर बिरसा मुण्डाको समकक्षमा अखण्ड भारतको स्वाधीनता संग्रामी शहीद मेजर दुर्गा मल्लको पुर्णाङ्ग सालिकको उद्घाटन हुने भएको छ। आइतबार उक्त विषयलाई लिएर कालचिनी ट्रली लाइनमा समाजसेवी पासाङ लामाको मुख्य उपस्थितिमा एवम् डुवर्सको बीरपाड़ा, कुमारग्रामलगायत कालचिनी खण्डको विभिन्न ठाउँहरुबाट आएका गोर्खा, बंगाली, आदिवासी, बिहारी, मुस्लिम अनि मारवाड़ी प्रतिनिधिहरुको जमघटमा एउटा कार्यकारी कमिटीको पनि गठन गरियो।
सभामा बीरपाड़ा हाम्रो समाजको अध्यक्ष तथा अवकाशप्राप्त शिक्षक कृष्णबहादुर श्रेष्ठलगायत माक्रापाड़ा समाजसेवी सबिन थापा, दलमोरबाट अभिजीत सार्की एवम् अन्यान्य प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। सभाको अध्यक्षता वयोवृद्ध आदिवासी समाजसेवी फ्रान्सिस बारलाले गरेको थियो भने सभामा समाजसेवी पासाङ लामाले शहीद मेजर दुर्गा मल्लको सालिक निर्माणको सम्पूर्ण खर्च बेहोर्ने बताएपछि विभिन्न ठाउँहरुबाट आएको प्रतिनिधिहरुले समाजसेवी पासाङ लामाको पहललाई साधुवाद जनाएको थियो। सभामा शहीद मेजर दुर्गा मल्ल सालिक निर्माण कमिटीको गठन पनि गरियो भने निर्माण कमिटीको प्रधान संरक्षकमा पासाङ लामा र अधिवक्ता देवांशु घोषलाई चयन गर्दै महासचिवमा युवा समाजसेवी अजय कुमार आलेलाई दायित्व दिएपछि कमिटीको कन्भेनरहरु एवम् कार्यकारिणी सदस्यहरु चयन गरियो।
सभामा समाजसेवी पासाङ लामाले सालिक निर्माण कमिटीलाई सम्पूर्ण मदत दिने तर यसमा आफ्नो किञ्चित पनि व्यक्तिगत साथै राजनैतिक स्वार्थ नरहेको र सम्पूर्ण दायित्वमा सबै समुदायको प्रतिनिधिहरुलाई सुम्पिएको जनाएका छन्। उनले कालचिनी मात्र नभएर डुवर्स क्षेत्र नै एउटा लघु भारतको रुपमा चिनिन्दै आएको र यहाँ साम्प्रदायिक सद्भाव र एकताको सन्देश दिनलाई आउँदो २३ अगस्तको दिन अखण्ड भारतको स्वाधीनता संग्रामी शहीद मेजर दुर्गा मल्लको सालिक स्थापना गरिने र यसपछि आउँदो ३ दिसम्बरमा स्वाधीन भारतको पहिलो राष्ट्पति डा. राजेन्द्र प्रसादको लगत्तै २३ जनवरीको दिन नेताजी सुभाषचन्द्र बोसको सालिक स्थापना गर्ने लक्ष्य रहेको जनाएका छन्। कालचिनी चौपतिमा शहीद मेजर दुर्गा मल्लको सालिक स्थापना मात्र साम्प्रदायिक सद्भावको सन्देश दिनलाई हो भने यसमा कुनै प्रकारको पूर्वाग्रह नरहेको साथै यसको सम्पूर्ण जिम्मेवारी सामाजिक संस्थासित जड़ित रहेको सामाजिक कार्यकर्ताहरुलाई सुम्पिएको समाजसेवी पासाङ लामाले जनाएका छन्। यता सालिक निर्माण कमिटीका महासचिव अजय कुमार आलेले आजदेखि नै कमिटीको कामहरु शुरु भएको र उक्त दिन सम्पूर्ण द्वेष भाव र झण्डाको रंग नहेरी कालचिनी भेगका जनप्रतिनिधि औ समाजसेवी एवम् नेता प्रतिनिधिहरुलाई निमन्त्रणा दिईने जनाएका छन्।









