खरसाङ: प्राध्यापक डा अमीर दर्जीद्वारा लिखित दुईवटा पुस्तकको तीनधारेमा लोकार्पण गरिने भएको छ। उक्त विषयमा आज साहित्य कला संस्थान तीनधारेको एक सभा उपाध्यक्ष सुरेन बम्जनको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई संस्थानको मूल सचिव सन्तोष लामाले सञ्चालन गरेका थिए। यसै सभामा निर्णय गरिए अनुसार तीनधारेका सुपुत्र एंव वर्तमान माल बजारस्थित परिमल मित्र स्मृति महाविद्यालयको प्राध्यापक डा. अमीर दर्जीद्वारा लिखित दुईवटा पुस्तकको लोकार्पण आगामी १९ मईको दिन तीनधारेमा हुने भएको छ। डा. अमीर दर्जीद्वारा लिखित दुईवटा पुस्तकहरूमा तीनधारेमा नेपाली नाटक अनि अर्को पुस्तक ‘विविध वृत्तहरूमा तीनधारे’ नामक पुस्तक लोकार्पण हुने भएको जानकारी प्राप्त भएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै साहित्य कला संस्थानको सचिव सन्तोष लामाले आगामी १९ मईको दिन तीनधारेको सुपुत्र एंव प्राध्यापक डा. अमीर दर्जीद्वारा लिखित दुईवटा पुस्तकको तीनधारेमा लोकार्पण गरिने भएको छ। उनले उक्त लोकार्पण कार्यक्रममा सभाध्यक्षको रुपमा वरिष्ठ साहित्यकार हस्त नेचाली र प्रमुख अतिथिको रूपमा नारी स्रष्टा विन्ध्या सुब्बा उपस्थित रहने साथै विशिष्ट अतिथिको रूपमा डा. घनश्याम नेपाल र डा. कृष्णराज घतानी पनि उपस्थित रहने भएको जानकारी गराएका छन्। त्यसरी नै प्राध्यापक डा. अमीर दर्जीले आफ्नो पहिलो पुस्तक ‘तीनधारेमा नेपाली नाटक’ मा तीनधारेमा ६० वर्षको नेपाली नाटकको इतिहास रहेको बताएका छन्। उनले अर्को पुस्तक विविध वृत्तहरूमा तीनधारे नामक पुस्तकमा तीनधारे र वरिपरिका क्षेत्रहरूका साहित्य, कला, संगीत, खेलकूद, शिक्षा लगायत सामाजिक क्षेत्रमा योगदान दिनेहरू र अन्य विविध विषयहरूमा जानकारी रहेको बताएका छन्।