अलीपुरद्वार: अलीपुरद्वार जिल्लाको मदारीहाटमा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ। मृतककाे पहचान मध्य मदारीहाट निवासी २८ वर्षीय आकाश दासकाे रुपमा भएको छ। घटना शनिबार राति करिब ८.३० बजे भएको हो। आकाशका काका सत्यजित दासले तीनवटा हात्ती आएको आवाज सुनेपछि भतिजा घरबाट निस्केको बताए। घरबाट बाहिर निस्कने बित्तिकै केही बेरमै हात्तीले आकाशलाई सुँड़मा बेरेर उसलाई जंगलतिर लग्यो। त्यसपछि परिवारले रातभर आकाशको खोजी गरे तर उनको कुनै खबर फेला परेन भनि आकाशका काकाले बताए। आज बिहान आकाशको शव क्षत-विक्षत अवस्थामा जंगलमा भेटियो। अर्कोतिर घटनाको सूचना पाएर वन विभाग अनि पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई उद्धार गरी पोस्टमर्टम गर्न पठायो।