काठमाडौ: जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छिन्। आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले उनलाई स्वागत गरेकी हुन्। विदेशमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन्। विदेशमन्त्री नियुक्त भएपछि योकाको यो पहिलो नेपाल भ्रमण हो।
भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्ने र आजै उपप्रधानमन्त्री तथा विदेशमन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। नेपाल–जापान सम्बन्धको ६८ वर्ष लामो इतिहासमा विदेश मन्त्रीको यो चौथो नेपाल भ्रमण हो। विदेशमन्त्री मन्त्रालय स्रोतका अनुसार जापानी मन्त्रीको भ्रमणका क्रममा कुनै किसिमको सहमति र सम्झौता भने हुनेछैन। भ्रमणका क्रममा दुई देश बिचको सम्बन्ध, विकास निर्माण, जापानले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।