गान्तोक। राजस्थानको माउण्ट अबुस्थित प्रजापिता ब्रह्मकुमारिस इश्वरीय विश्व विद्यालय, अन्तरराष्ट्रिय मुख्यालयको भ्रमणमा रहेका मुख्यमन्त्री प्रेमसिंह तामाङ र उनकी धर्मपत्नी कृष्ण कुमारी राई शनिवार बिहान ज्ञान सरोवरमा परिचयात्मक एवं ध्यान सत्रमा सहभागी बने।
मुख्यमन्त्रीले उक्त कार्यक्रम वास्तवमा ज्ञानवर्धक र आनन्ददायक अनुभव रहेको आफ्नो आधिकारिक फेसबुक पेजमा जानकारी गराएका छन्।
उनले ब्रह्मकुमारिसकी वरिष्ठ सदस्य एवं ज्ञान सरोवरकी राजयोगिनी दिदी सुदेशजीलाई भेट्न पाएकोमा हर्ष व्यक्त गरेका छन्। उनले परिसरमा कल्प वृक्ष र अन्य आध्यात्मिक सम्पत्तिहरूको अवलोकन रोमाञ्चक र ज्ञानवर्धक थियो भनी उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले ब्रह्मकुमारिसका सम्पूर्ण सदस्यहरूप्रति न्यानो स्वागत, अभिनन्दन र ध्यान सत्र आयोजनको निम्ति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।










