कोलकाता: शिक्षक भर्ती घोटाला मामिलामा पक्रा परेका पूर्व मन्त्री पार्थ च्याटर्जीले विधानसभाको सदस्यताबाट राजीनामा दिने छैनन्। यसको पुष्टि पार्थका वकिल सुकन्या विश्वासले गरेका छन्। प्रेसिडेन्सी जेलमा उनीसित भेट गरेपछि आइतबार वकिल सुकन्या विश्वासले पार्थ च्याटर्जीले विधानसभाको सदस्यता छोड्ने चर्चालाई खारेज गर्दै पार्थले राजीनामा दिनेछैनन्, उनी विधायक बनीरहन चाहन्छन् भने। उल्लेख्य, यसअघि ५ अगस्तमा विधायक पार्थका वकिलले भनेकी थिइन्, ‘मामिलाको गम्भीरतालाई मध्यनजर राख्दै उनले विधानसभाको सदस्यता छोड्ने छन्। ईडीको कथन अनुसार पार्थ प्रभावशाली व्यक्ति हुन् र जाँचमा प्रभाव पर्नसक्छ। यसमा हामीले आवश्यकता परे पार्थले विधानसभाबाट राजीनामा दिने भनेका थियौंl’
त्यही, अर्कोतिर प्रेसिडेन्सी जेलमा जमीनमा रात बिताएपछि अन्ततः डाक्टरको सुझावमा पार्थ च्याटर्जीलाई चौकी दिइएको छ। उनलाई अन्य कैदीहरू सरह अब जमीनमा सुत्न पर्नेछैन। पार्थले जेल अस्पतालका डाक्टरलाई आफ्नो शारीरिक समस्याहरूसित अवगत गराएका थिए। पछि डाक्टरको सुझावमा प्रेसिडेन्सी जेल प्रशासनले पार्थ च्याटर्जीलाई चौकी उपलब्ध गराएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





