हमासले गाजामा युद्धविराम वार्ता पुनः शुरु गर्न आफ्नो प्रतिनिधिमण्डल इजिप्टको कायरो जाने भएको छ। इजरायलले ४० दिने युद्धविराम र बन्धकहरूको रिहाइको बदलामा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने प्रस्ताव गरेको छ। विदेशी मध्यस्थकर्ताहरू इजरायलको प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहेका छन्। अमेरिकी सञ्चारमाध्यमले इजरायलले हमासलाई प्रस्ताव स्वीकार गर्न एक साताको समय दिएको दाबी गरेको छ। इजरायलले यो प्रस्ताव स्वीकार नगरे गाजाको दक्षिणमा रहेको रफाह शहरमा आक्रमण गर्ने जनाएको छ। इजरायली प्रधानमन्त्री नेतन्याहुले हमासलाई हराउन रफाहमा आक्रमण गर्नु आवश्यक भएको दाबी गरेका छन्। तर, इजरायलले रफाहमा आक्रमण गरे लाखौं प्यालेस्टाइनीको ज्यान खतरामा पर्नसक्ने डर छ।