झापा: झापाको दमकमा गोली लागी गम्भीर घाइते भएकी छात्रा एनिका गजमेर (निशा)लाई गोली हान्ने मानिस उनकै पूर्व शिक्षक रहेको खुलेको छ। शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्ह १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेको समाचार छ। उदयपुर घर भएकी एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन्। अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडीयो सार्वजनिक भएको छ। भिडीयोमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन्। प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन्। यादव कहाँ बस्थे भन्ने बिषयमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ। एनिकाको शरीरमा लागेको गोली निकालिएको छ। उनको नाभि छेउमा गोली लागेको थियो। दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन्। गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन। पुलिसले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएको छ।









