सिक्किम फुटबल एसोसिएशन स्व. थुप्देन राप्गेल भोटिया स्मृति फुटबल टुर्नामेन्टको तयारीमा

IMG-20240503-WA0248.jpg

गान्तोक: सिक्किम राज्यमा फुटबल खेलको विकासमा उल्लेखनीय योगदान दिने स्व. थुप्देन राप्गेल भोटियालाई श्रद्धाञ्जली अर्पण गर्दै सिक्किम फुटबल एसोसिएशन (एसएफए) ले उनको नाममा फुटबल टुर्नामेन्ट आयोजना गर्ने भएको छ। आज एउटा पत्रकार सम्मेलन डाकेर एसोसिएशनले टुर्नामेन्टको घोषणा गरेको हो। स्व. भोटियाले राज्यमा फुटबल खेल साथै अन्य खेलकुदको क्षेत्रमा पुऱ्याएको योगदानको कदर गर्दै उनको नाममा थुप्देन राप्गेल भोटिया मेमोरियल अण्डर १५ फुटबर टुर्नामेन्ट आयोजना गर्ने निर्णय लिइएको जुन टुर्नामेन्ट आगामी १५ मईदेखि पाल्जोर स्टेडियममा आरम्भ हुने एसएफए-का अध्यक्ष मेन्ला इथेन्पाले बताए।

सर थुप्देनको नामले प्रख्यात थुप्देन राप्गेल भोटिया सिक्किममा फुटबल खेलको विकासमा महत्वपूर्ण योगदान दिनेहरू मध्ये एक अविस्मरणीय नाम हुन्। युवा अवस्थामा सिक्किम राज्य टोलीलाई प्रतिनिधित्व गरेर सन्तोष ट्रफीसमेत खेलेका भोटियाले जीवनको अन्तिम क्षणसम्म फुटबल खेलको सेवा गरेका थिए। उनले प्रशिक्षकको रुपमा पनि लामो समयसम्म काम गरेका थिए। फुटबल बाहेक अन्य खेलहरूमा पनि राम्रो दखल राख्थे उनी। युवा प्रतिभाहरूलाई तिखार्नमा उनी खप्पिस थिए। १४ अक्टोबर १९५७मा जन्मेका स्व. भोटिया सिक्किम सरकारको खुलकुद एवं युवा मामिला विभागका पूर्व अधिकारी पनि हुन्। लामो समयसम्म बिमार भएपछि गत ८ जूनको दिन उनको निधन भएको थियो।

सिक्किम फुटबल एसोसिएशन-का महासचिव फुर्वा शेर्पाले जानकारी गराएअनुसार आगामी ७ मईदेखि पाल्जोर स्टेडियमा आरम्भ हुन गइरहेको सी डिभिजन सिक्किम प्रिमियर लीगको बीचमा थुप्देन राप्गेल भोटिया मेमोरियल अण्डर १५ फुटबल टुर्नामेन्ट खेलाइनेछ। यसको निम्ति एसएफए-ले इच्छुक क्लबहरूलाई खुल्ला निम्तो दिएको छ। यस वर्ष खुल्ला टुर्नामेन्टको रुपमा आयोजना गरिएको यो टुर्नामेन्ट आगामी वर्षदेखि भने लीगको रुपमा आयोजना गरिने पनि उनले थप बताए।

फुटबल डेभलपमेन्ट प्राइवेट लिमिटेडद्वारा गत दुई वर्षदेखि आयोजना गरिँदै आएको सिक्किम प्रिमियर लीगलाई लिएर अल इण्डिया फुटबल फेडरेशनले पठाएको नोटिश बारे प्रश्न गर्दा एसएफए-का अध्यक्ष मेन्ला इथेन्पाले अहिले नै कुनै प्रकारको टिप्पणी गर्न अस्वीकार गरे। हाल राज्यमा विधानसभा साथै लोकसभा चुनाउ प्रक्रिया चलिरहेकोले एसोसिएशन-ले मौन धारण गरेको र चुनाउ प्रक्रिया सकिए पछि पत्रकार सम्मेलन नै डाकेर सबै कुरा विस्तृत रुपमा जानकारी गराउने उनले बताए। तथापि यो वर्ष चुनाउको वर्ष भएकोले नै फुटबल डेभलपमेन्ट प्राइवेट लिमिटेडद्वारा गत फरवरी महिनामा आयोजित सिक्किम प्रिमियर लीग “सरवाइभ” गर्नसकेको भने उनले बताए। अर्कोतिर सिक्किम फुटबल एसोसिएशन-ले आयोजना गर्ने सिक्किम प्रिमियर लीग नै इल इण्डिया फुटबल फेडरेशनद्वारा मान्यताप्राप्त लीग रहेको महासचिव फुर्वा शेर्पाले बताए। उल्लेखनीय छ, सिक्किम प्रिमियल लीगको नाम गरेर गैरमान्यताप्राप्त संस्थानले कसरी लीग खेलाउँदैछ भन्दै देशको शिर्षस्थ फुटबल संस्थान अल इण्डिया फुटबल फेडरेशनले सिक्किम फुटबल एसोसिएशनलाई दुईपल्ट जवाफ मागिसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement