झापा (नेपाल): कोशी प्रदेशका विभिन्न स्थानमा बिहीबार मध्यरातिदेखि श्वास रोकिनेगरी धुँवा फैलिएर वातावरण प्रदूषित बनेको छ। वातावरण प्रदूषित बन्दा श्वास फेर्नै गाह्रो हुने र आँखासमेत समस्या भइरहेको स्थानीयबासीहरु बताउँछन्। मोरङ जिल्लाको बेलबारी, केराबारी, लेटांग लगायतका क्षेत्रमा रहेका सामुदायिक बन क्षेत्रहरु, इटहरी–धरान सडकखण्डमा रहेको चारकोसे झाडीमा मध्यरातिदेखि डढेलो लागेका कारण त्यहीँबाट फैलिएको धुवाँले समग्र क्षेत्रमा समस्या भएको बताइृएको छ। ‘चारकोसे क्षेत्रमा रातिदेखि नै डढेलो लागेको भन्ने कुरा आएको छ,’ ‘चारकोसेको बीच भागतिर डढेलो लाग्दा सबै क्षेत्रमा समस्या भएको छ। श्वास फेर्न, आँखा हेर्न मात्रै होइन। बाटोमा आवतजावत गर्ने यात्रुहरूलाई समेत समस्या भइरहेको छ। जताततै धुवाँ फैलिएका कारण बाटो हिँड्ने यात्रुहरूलाईसमेत समस्या भइरहेको छ।
यस बिषयमा कोशी प्रदेश पुलिस कार्यालय विराटनगरका प्रवक्ता, पुलिस उपरीक्षक (एसपी) सुमन तिम्सिनाले जंगल क्षेत्रमा डढेलो लगाउने कार्य गर्ने मानिसको पहिचान गरी कारबाहीको दायरामा ल्याउने बताए। तिम्सिनाले भने, ‘जंगलमा डढेलो लगाएर अपराध गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनेसम्मको पुलिस टोलीको गस्ती परिचालन गरिएको छ।’ उनले कोशी प्रदेश पुलिस कार्यालय विराटनगर, तालिम केन्द्र र जिल्ला पुलिस कार्यालयबाट प्रदेशका १४ वटै जिल्लामा पुलिस टोली खटिइरहेको समेत बताए।