सोलुखुम्बुमा डढेलोले दश घर ध्वस्त, पशुचौपाया हताहत

IMG-20240503-WA0002

झापा (नेपाल): पूर्वी नेपालको हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन्। आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला पुलिस कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा बुधबार भएको आगलागीबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको जिल्ला पुलिस कार्यालयका सूचना अधिकारी पुलिस इन्स्पेक्टर (निरीक्षक )रामचन्द्र साहले जानकारी दिए। यस्तै बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको  इन्स्पेक्टर साहले बताए। उनका अनुसार घटनामा दर्जनौँ गोठ तथा घरपालुवा पशुचौपाया जलेर हताहत भएका छन्। थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किँदा बस्ती नै खरानी भएको पुलिस नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।

उनले भने, ‘वनमा फैलिएको डढेलो निभाउन प्रहरीसहित स्थानीय जनशक्ति सक्रिय थिए, एक्कासी आगो गाउँमा सल्कियो र गाउँ नै सखाप बनायो, त्यो आगो हावाले उडाएर ल्याएको झिल्कोबाट सल्किएको हुनुपर्छ, त्यहाँका अधिकांश घरमा खरको छानो भएकाले नियन्त्रणमा लिन समय लाग्यो।‘ गाउँमा सल्किएको आगो नेपाल पुलिस, सशस्त्र पुलिस,  स्थानीयवासी, गाउँपालिकालगायतको सक्रियतामा नियन्त्रणमा लिन सफल भएको छ भने जंगलको डढेलो नियन्त्रण बाहिर रहेको छ।

घटनाको क्षतिको विवरण संकलन भइरहेको जिल्ला पुलिस कार्यालय सोलुखुम्बुले जनाएको छ। आगोले सबै धनसम्पत्ति जलेर खरानी भएपछि पीडितहरू अर्धचेत अवस्थामा पुगेको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बताए। आगोले सबै नष्ट गरायो, भएभरका सबै गुमाएपछि अहिले यहाँका स्थानीयमा चेत छैन, पूरै गाउँ नै रुवाबासीमा परिणत भएको छ, बस्ती नै खरानी भयो, जङ्गलमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन, धुवाँ र धुलोले अझै आँखा हेर्नसक्ने अवस्था छैनु, समन्वय प्रमुख निरौलाले भने।

एकाबिहानै दुई घर र एक खोर जले, ६५ लाखको क्षति

जिल्लाको नेचासल्यान गाउँपालिका–२ डिटीमा बिहिबार बिहान दुईवटा घर र बाख्राको एउटा खोर जलेर नष्ट भएको छ। बिहान ४.३० बजे डिटीका ज्ञानबहादुर खत्रीको दुईवटा घर र एउटा खोर जलेर नष्ट भएको जिल्ला पुलिस कार्यालय सोलुखुम्बुले जनाएको छ। इन्स्पेक्टर मचन्द्र साहका अनुसार आगलागीबाट ६५ लाख बराबरको क्षति भएको छ। ज्ञानबहादुरको दुईवटा घरमा भएको रु० ५० हजार नगद, नौ तोला सुन, २० तोला चाँदी, २० मुरी अन्न, एक थान मोबाइल, लत्ताकपडा, भाँडावर्तनलगायत सबै सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताए। आगोले नजिकै रहेको बाख्राको खोरसमेत जल्दा एउटा बोका र एउटा बाख्रा जलेर मरेको  छ। आगलागीको कारण खुल्न सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement