झापा (नेपाल): जंगलमा लागेको डढेलो मानव बस्तीमा पुगेर घरमा आगलागी हुँदा गएराति एक महिलाको मृत्यु भएको छ। घर नजिकैको जंगलमा लागेको डडेलोले छेवैमा रहेको घरमा भेट्दा रामेछाप नगरपालिका वार्ड न० ८ चौकीटारको ३२ वर्षकी रमिता तामाङको जलेर मृत्यु भएको हो। डढेलोले उनको दुईवटा घर तथा गोठ जलेर नष्ट हुनुका साथै ४८ वटा बाख्रा मरेको पुलिसले जनाएको छ। मृतकको शवलाई पोष्टमर्टमका लागि जिल्ला अस्पताल रामेछाप लगिएको पुलिसले जनाएको छ। रामेछाप जिल्लाको अधिकांश जंगलहरुमा अहिले डढेलो लागिरहेको छ। डढेलोले अहिलेसम्म सवैभन्दा बढी क्षति रामेछाप नगरपालिकामा गरेको रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बताइन्। रामेछापमा डढेलोकै कारण यसअघि दुई जनाको मृत्यु भइसकेको छ।