झापा (नेपाल): मोरङ जिल्लाको विराटनगर–८ मा एकै घरपरिवारका बाबुआमा र दुई छोरीले विष सेवन गरेपछि अस्पताल भर्ना गरिएको छ। ब्यांकको लोन लिएर अर्कोलाई दिएका ४० वर्षीय मो. अनवरले बारम्बार फिर्ता माग्दा नदिएपछि मुसा मार्ने औषधी लिएर घर पुगेका थिए। ब्यांकले कर्जा चुक्ता गर्न भाखा दिएपछि परिवारले नै आफन्तले फसाएको भन्दै विष खाएको पुलिसले बताएको छ। मो. अनवर कोशी अस्पतालको आईसियुमा उपचारतः रहेका छन्। उनले नातामा जेठान पर्ने मो. जुबेरलाई ६ वर्ष अगाडी ६ लाख रुपियाँ ब्यांकबाट झिकेर दिएका थिए। सो पैसाको किस्ता नबुझाएपछि ब्याजले थेगिनसक्नु अवस्थामा पुगेको थियो। पछिल्लो समय ब्यांकले भाखा नाघेको सुचना पठाएपछि उनी आफन्तसँग जुध्न नसक्ने भएको भन्दै विक्षिप्त बनेका थिए।
‘दाई विक्षिप्त भएर मुसा मार्ने विषादी सेवन गर्ने अवस्थामा पुगेपछि भाउजु सैवुन खातुन, भतिजीहरु सदिया खातुन र सविया खातुनले समेत प्रयोग गरेछन्’, अनवरका भाई कुवेत मियाँले भने। कुवेतका अनुसार दाई अनवर र छोरी २२ वर्षीया सदिया अहिले कोशी अस्पतालको आईसियुमा छन्, भाउजु ३५ वर्षीया सैवुन र १५ वर्षीया छोरी सविया खातुनको अवस्था सामान्य रहेको छ। मोरङका पुलिसका एसपी नवराज कार्कीले ब्यांकको लोनमा डुबेको भन्दै परिवारले विष खाएपछि उनीहरुको कोशीमा उपचार भइरहेको सूचना रहेको बताए। उनले अहिलेसम्म चारैजना खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएको बताए।