खरसाङ: मगर संघ भारत, खरसाङ शहर समितिको पन्ध्रौं स्थापना दिवसको अवसरमा मणिपुरको भयावह पैह्रोको चपेटमा परेर ज्यान गुमाउने भारतीय सेनाका गोर्खा जवानहरूलाई श्रद्धाञ्जली अर्पण गरियो। संघको खरसाङ महकुमा समिति अनि शहर समितिको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम यसपल्ट स्थापना दिवस कुनै भव्य रूपमा पालन नगरेर केवल ती वीर शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्न मात्र आयोजना गरिएको जानकारी सभापति राजेन थापाले दिए। उनले बढ़दो कोरोना महामारीलाई ध्यानमा राखेर अनि ती वीर शहीदहरूलाई स्मरण गरेर यसपल्ट संघले कुनै भव्य कार्यक्रम नगरेको जनाउँदै यद्यपि यसै अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण भने गरिएको जनाए। संघको खरसाङ शहर समिति सचिव चन्द्रबहादुर थापाले संचालन गरेको कार्यक्रममा शहीदहरूलाई प्रदान गरिएको श्रद्धाञ्जली शब्द अनि उनीहरूको नाम महकुमा समिति सह सचिव पुरण थापाले पठन गरे। कार्यक्रममा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै मोमबत्ती जलाइयो अनि खदा,पुष्प अर्पण गरियो अनि दुई मिनटको मौन धारण गरियो। यहाँको रेलवे इम्प्लोइज युनियन कार्यालयमा सम्पन्न कार्यक्रममा संघको खरसाङ महकुमा अनि शहर समितिका प्रतिनिधिहरू उपस्थित थिए।










