दार्शनिक व्यूंग-चुल हान अनि ‘वर्न आउट सोसाइटी’

Book

दक्षिण कोरियामा जन्मेर जर्मनीमा बसेका दार्शनिक अनि सांस्कृतिक सिद्धान्तकार व्यूंग चुल हान यूरोप साथै अन्य देशहरूमा सबैभन्दा व्यापक रूपमा पढ़िएका दार्शनिकहरू मध्ये एक हुन्। चुल हानद्वारा लिखित ‘वर्न आउट सोसाइटी’ को नयाँ सिद्धान्त आजको डिजिटल युग माथिको अनुसन्धानात्मक कृति हो।  चुल हानका यस नयाँ सिद्धान्तले अघिल्ला समयका दार्शनिकहरूका धारणाहरूलाई परिवर्तित दृष्टान्तले हेरेका छन्। फ्रेन्च दार्शनिक मिशल फूकोको ‘अनुशासन अनि दण्ड’ (१९७५) मार्क्सवादको ‘वर्ग संघर्ष’ फ्राइडको ‘अचेतन मन’को सिद्धान्तलाई चुल हानले नयाँ विचारधारा दिएका छन्। राजनीतिक चिन्तक जेरेमी वैथंमको अवधारणा’ ‘पनोप्टिकाँन’  (Panoptican) लाई मिशल फूकोले आधुनिक समाजका नागरिकहरूलाई अनुशासित राख्ने एउटा उच्च स्तरीय व्यवस्था मानेका थिए। यस अवधारणा अनुसार जेलका कैदीहरूका प्रत्येक क्षणका गतिविधिहरूलाई एउटा केन्द्रिय टावरका माध्यम द्वारा निगरानी (Survellence) गर्न सकिन्थ्यो। कैदीहरूका मस्तिष्कमा पनि  हरसमय आफू माथि भइरहेको निगरानीको भय रहन्थ्यो। फूकोको  यस धारणाले मानिसहरूमाथि जैव-राजनिती (Bio-Politics) गरेर उनीहरूलाई नियमित राख्न सकिन्थ्यो।

आजको समाज मिशल फुकोको सिद्धान्तगत समाज छैन। त्यस कालका जेल, अस्पताल, कारखानाहरू पुन: स्थापित भएर आधुनिक ब्यांक, अस्पताल, अफिस, विमान अड्डा, शपिङ मल, फिटनेस स्टुडियोहरू निर्माण भएका छन्।  बीसौं शताब्दीको अनुशासनिक समय आज उपलब्धि सोसाइटी (Achievement Society) मा परिवर्तित भएका छन्। मानिसहरू उद्धमशील (entrepreneur)  बनेका छन्। अनुशासनिक समयको ‘सक्तिन’ र नकारात्मकता आज उपलव्धि सोसाइटीमा ‘असीमित सक्छु’ र सकारात्मकताले प्रेरित छन्।    कार्यक्षेत्र कसैका अधिनस्थ छैन। मानिसहरू स्वंय नै मालिक र श्रमिक हुन्। अघिका वर्गसंघर्ष अहिले आन्तरिक संघर्ष बनेको छ। मानिसहरूले आफैलाई आन्तरिक-सिमा र आत्म-वाधाहरूको अधिनमा राख्छन्। मालिकवर्गका आदेश, नियम कानूनहरूका प्रतिमान (Paradigm) विस्थापित भएर अहिले अधिक परिश्रम गर्ने प्रेरणा र क्षमताहरू मानिसहरूमा विकसित भएका छन्।

आजको ‘हसल कल्चर’ ले मानिसहरू सफलता हासिल गर्न कड़ा मेहनत र श्रमका पछि कुदिरहेका छन्। अवकाश या फुर्सद उपलब्धि सोसाइटीका निम्ति अपराध बोध हुन्छ। महत्वाकांक्षी, असफल नहुने भावका कारण व्यक्तिगत जीवन र कार्यक्षेत्र बिचको सम्पर्क अस्पष्ट हुँदै जाँदैछ। ई-मेल, इन्टरनेट मेसेजहरूद्वारा हरपल कर्मक्षेत्रसँग जोड़िरहने स्थितिले हामीलाई फूकोको ‘पनोप्टिकाँन’द्वारा गरिने निगरानीको स्मरण गराउँछ। फूकोको अनुशासनिक समाजमा निषेधको नकारात्मकता थियो भने उपलब्धि सोसाइटीमा बाह्य शक्तिद्वारा शोसित नभएर मानिसहरू निरन्तर उत्पादन शीलताका कारण आत्म शोसित (Self-Exploit)  भइरहेका छन्। यसरी अनुशासनिक समयको जैव-राजनीति (Bio-Politics) को प्रतिमान आज मनो-राजनीति (Psycho-Politics)मा परिवर्त्तन भएको छ।

व्यंगू चुल हानले  चेतावनी दिन्छन् अधिक सकरात्मकताको परिणाम नकरात्मकता भन्दा पनि विनाशकारी हुनसक्छ। हानको व्यख्याअनुसार रोगको  किटाणुहरू द्वारा आक्रमण  भएपछि शरीरमा त्यस रोगसँग लड़्ने एन्टिबडीहरू बनिन्छन्। शरीरमा रोगप्रतिकारक पदार्थ बन्न शरीरभित्र भएका समान रोगका किटाणुहरू होइन तर फरक किटाणुहरूको प्रयोजन रहन्छ। त्यसरी नै फ्रायडको सिद्धान्तअनुसार अचेतन दिमागले नकारात्मक विचारहरू भण्डार गर्छ जसले व्यक्तिलाई मानसिक रूपमा स्वास्थ राख्छ। तर  उपलब्धि सोसाइटीमा कुनै नकरात्माकता, अस्वीकार, प्रतिगमन भाव छैन केवल पुष्टि मात्र छ। फ्रायडको ‘गर्नु पर्छ’ अहिले ‘सक्छ’ भएको छ। तसर्थ फ्रायडको अचेतन मनको सिद्धान्त परिवर्तित भएर ‘पोस्ट फ्राइडियन ईगो’ भएका छन्। यो पूर्णरूपमा फरक मानसिकता हो। कुनै प्रतिरक्षा बिना अत्याधिक सकरात्मकतामा परेको यस नयाँ प्रकारको मानसिकतामा सम्पूर्ण सार्वभौमिकताको कमी छ।

कार्य र सुचनाहरूको अत्याधिकताले आधुनिक समाजमा मानिसहरू बहुकार्य (Multitasking) गर्न सक्षम छन्। तर यस्तो योग्यता प्रतिगमनको मात्रा हो। यसले मानिसहरूका ध्यान विश्रंखल हुँदै जाँदैछन्। गहिरो चिन्तन गर्ने क्षमता क्षीण हुँदै गइरहेछन्। धारणाहरू खण्डित हुँदै जाँदैछन्। मल्टि-टास्किङ जंगली जानवरहरूमा सामन्य छन्। जानवरहरूले खाने काम गर्दा चनाखो रहेर शत्रुदेखि बाँच्ने, बच्चाहरूको सुरक्षा, यौन साथी माथि नजर राख्ने बहुकार्य गर्छन्। तसर्थ पशुहरूमा गहिरो चिन्तन गर्ने क्षमता हुँदैन।

हामी हाम्रा सांस्कृतिक उपलब्धिको ऋणी छौं जसमा दर्शन पनि समावेश छ। यस्तो सांस्कृतिक वातावरणबाट गहिरो ध्यान पाउँन सम्भव छ। तर आज यस्ता ध्यानहरू विभिन्न प्रकारका हाइपर-एटेन्सन्  द्वारा विस्थापित भइरहेका छन्। उपलब्धि र अधिक सक्रियताका कारण मानिसहरूमा अत्याधिक थकान उत्पन्न भइरहेका छन्। यस्तो मानसिक अवस्थामा नकरात्मकता कमजोर बनेको र अतिरिक्त सकरात्मकताले हावी भएको  समाजलाई चित्रण गर्छ। कार्य सम्पादन वृद्धिको अत्याधिकताका कारण मानिसहरू मनोवैज्ञानिक संक्रमणका शिकार हुँदै जाँदैछन्। आज उपलब्धि सोसाइटीमा जुन थकान देखा परेका छन्, त्यस थकान ‘एकान्त थकान’ हुन्। त्यस थकानले हिंसा तर्फ लगेर जान्छ । जुन हिंसा अरूहरूलाई हेर्ने तरिकामा व्यक्त हुन जान्छ । जसले अरूलाई पनि विकृत गराउँछ। नकरात्मकताले पागल र अपराधी बनाउँछ भने अधिक सकरात्मकताले डिप्रेशन अनि हार।

व्यूंग चुन हानले वर्न आउट जस्ता समकालीन महामारी देखि रोकथाम गर्न कार्यक्षेत्रमा सुस्तता अँगाल्न, आत्मनिरीक्षण गर्न, कार्य बिच आराम र विश्राम लिन, ध्यान गर्ने जस्ता अभ्यासहरू अपनाउने सुझाव दिएका छन्। मानिसले कहिले काँही उच्चाट लाग्दो क्षणलाई अँगाल्न पर्ने हुनेछ। जर्मन दार्शनिक वाल्टर बेञ्जामिनले भनेका छन् – ‘बोरियत भनेको सपना देख्नु हो जसले अनुभवको अण्डा निकाल्छ।‘ गहिरो थकान र मानसिक अधिभारको समकालीन महामारीमा सफलता हासिल गर्ने उम्मिद लिएर कसरी मानिसहरू अत्याधिक जड़ित संसार पछि भाग्दा सामूहिक रूपमा वर्न आउट भइरहेछन्। व्यूंग चुल हानले यही यथार्थलाई आफना कृति ‘वर्न आउट सोसाइटी’ द्वारा भन्न चाहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement