झापा (नेपाल): भक्तपुरको चाँगुनारायणमा आज इनार खन्ने क्रममा ग्यास निस्किएर निसासिँदा दुई जनाको मृत्यु भएको छ। रामेछाप घर भई २ वर्षदेखि सोही ठाउँमा जग्गा भाडामा लिएर टहरोमा बस्दै आएका २८ वर्षका सन्देश सुनुवार र उनका काका ४६ वर्षका दीपक सुनुवारको मृत्यु भएको हो। जिल्लाको चाँगुनारायण नगरपालिका- ४ खनालचोकस्थित सेतोमाइक्रो पार्क नजिकै जग्गा भाडामा लिएर बसेका उनीहरू सो जग्गामा इनार खन्न थालेका थिए। इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्किएर अचेत अवस्थामा उद्धार गरिएका दुवैजनाको उपचारका क्रममा मृत्यु भएको भक्तपुर पुलिसले जानकारी दिएको छ।