गान्तोक: सिक्किमका वरिष्ठ पत्रकार हेमन्त गिरीका छोरा रोहन गिरी मस्तिष्कघातका कारण सिलगढीको न्यूटिया अस्पतालमा उपचाराधीन रहेको सूचना पाएपछि सिक्किम सरकारले अस्पताल व्यवस्थापनसँग कुराकानी गरी उपचारको सम्पूर्ण जिम्मेवारी लिएको छ। राज्यका निवर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ स्वयंले आज रोहनका परिवारलाई उपचारमा लाग्ने अस्पतालको सम्पूर्ण खर्च व्योहर्ने सूचित गरेका छन्। उनले अस्पतालको व्यवस्थापकलाई पनि निर्देशन दिएका छन्।रोहन गिरी सिक्किम विश्वविद्यालयमा कानून विषय अध्ययनरत् विद्यार्थी हुन्। उनको मस्तिष्कघात भएको खबर पाउनसाथ सिक्किम विश्वविद्यालयको कानून विभागका विद्यार्थीहरूले उनलाई बचाउन सहयोगको आग्रह गर्दै आजसम्म सक्रियताका साथ अर्थसङ्ग्रह अभियान चलाएका छन्। पत्रकार हेमन्त गिरीले आफ्नो छोरा सिलगढीमा उपचाराधीन रहेको प्रेस क्लबलाई सूचित गरेपछि क्लबले तत्काल मुख्यमन्त्री तामाङलाई यसबारे जानकारी गराउँदै सहयोगको अपील गरेको थियो। मुख्यमन्त्रीले तत्काल अस्पतालको व्यवस्थापनसँग सम्पर्क गरी उपचारमा लाग्ने सम्पूर्ण खर्चको जिम्मेवारी सरकारले लिने बताएका छन्। उनले रोहनको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्। यसैबीच रोहनका परिवार र प्रेस क्लब अफ् सिक्किमले रोहनलाई बचाउन सिक्किम विश्वविद्यालयका विद्यार्थीहरूले दिएको योगदानको कदर गर्दै आभार व्यक्त गरेको छ। मुख्यमन्त्रीले प्रेस क्लब अफ् सिक्किमका अध्यक्षलाई पनि रोहनको उपचारको निम्ति सरकारले जिम्मेवारी लिएको जानकारी गराएका छन्। मुख्यमन्त्री तामाङको यस पहलप्रति रोहनका पिता हेमन्त गिरीलगायत परिवार साथै प्रेस क्लब अफ् सिक्किमले उनीप्रति हार्दिक कृतज्ञता प्रकट गरेको क्लबका प्रचार सचिव पंकज ढुङ्गेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।