गान्तोक: सिटिजन एक्सन पार्टी(क्याप) सिक्किमको गान्तोक छेउ रेसिथाङस्थित पार्टी मुख्यालयमा अखिल सिक्किम मजदुर काउन्सिल परिषदद्वारा आयोजित अन्तरराष्ट्रिय श्रमिक दिवस कार्यक्रम भव्यरूपमा पालन गरियो। पार्टीका मुख्यमन्त्री उम्मेदवार गणेश राईको अध्यक्षतामा आयोजित यस कार्यक्रममा पार्टीका अध्यक्ष भरत बस्नेत, वरिष्ठ नेता बीएम रामुदामु, सीएम तिवारी,अखिल सिक्किम मजदुर काउन्सिलका अध्यक्ष मणिकुमार छेत्री फ्रण्टल काउन्सिलका अध्यक्ष नरेन्द्र अधिकारी तथा अन्यहरू उपस्थित थिए।

पार्टीका अध्यक्ष भरत बस्नेतले सभालाई सम्बोधन गर्दै अन्तरराष्ट्रिय श्रमिक दिवसमा सबै शहीदहरुको स्मरण गर्दै संसारका असली कारीगरहरुले यो नयाँ नौलो सभ्यता निम्त्याएको बताए। पार्टीले ट्रेड युनियन एक्ट लाई मजबुत बनाउनु पर्छ भन्दै सिक्किमे श्रमिकहरुको पक्षमा यो पार्टी सदैव उभिएको बताए। पार्टीका मुख्यमन्त्री उम्मेदवार गणेश राईले अब श्रमिकहरु आफैं चेतनशील भएर अघि निस्केका छन् भनी बताए। सरकारले जताभावी श्रमिकहरुलाई अवैध नियुक्ति गरेर श्रमिकहरुको भाग्य र भविष्यसॅंग खेलबाड गरेको उनले आरोप लगाए। श्रमिकहरुलाई आफ्नो सम्बोधनमा यस महान दिवसको शुभकामना व्यक्त गरे।

उनले भने, अब श्रमिकहरुलाई झण्डा र डण्डा बोकाउनु होइन, उनीहरुको भाग्य र भविष्य निर्माण गर्ने दिशामा केवल सिटिजन एक्सन पार्टी सिक्किमले लैजाने छ। राज्यका विभिन्न जिल्लाबाट उपस्थित सबै श्रमिकहरुलाई अब २०२४ को निर्णयले न्याय प्रदान गरोस भन्दै श्रमिकहरुको हक र अधिकारको निम्ति सिटिजन एक्सन पार्टी सिक्किम सदैव खडा रहने उनले बताए। कार्यक्रममा मणिकुमार छेत्रीले अन्तरराष्ट्रिय श्रमिक दिवसमाथि प्रकाश पार्दै श्रमिक दिवसको महत्त्वबारे जानकारी गराएका थिए। कार्यक्रमलाई जिल्ला महिला काउन्सिलकी अध्यक्ष कर्मा डिछेन भोटिया, फ्रण्टल काउन्सिलका अध्यक्ष नरेन्द्र अधिकारी, वरिष्ठ नेता बीएम रामुदामु आदिले सम्बोधित गरेको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ।










