कोलकाता: राजभवनमा बम विस्फोटको धम्की आएको छ। धम्की दिने मेलमा लेखिएको छ, ‘हामी आतंकवादी समूह हौँ। नाम ‘टेरराइजर १११’ हो।‘ राजभवनमा आज सोही सन्देशसहितको धम्कीपूर्ण मेल आएको छ। केही दिनअघि विमानस्थल उडाउने धम्की आएको थियो। यसपटक कोलकाताको संग्रहालय र राजभवनमा बम विस्फोटको धम्की आएको छ। यो इमेल कसले र कहाँबाट पठाएको हो भनेर कोलकाता प्रहरीले अनुसन्धान गरिरहेको छ। पत्र आउनेबित्तिकै हंगामा मच्चियो। आज दिउँसो राजभवन, कोलकाता म्युजियमलगायत धेरै कार्यालयमा यी धम्कीपूर्ण इमेलहरू प्राप्त भएका छन्।
‘नमस्ते, हामी ‘टेरराइजर १११’ भनिने आतंकवादी समूह हौं। विभिन्न ठाउँमा विस्फोटक पदार्थ राखिएको छ भन्न चाहन्छौं। धेरै मान्छे मर्नेछन्। यो आक्रमणको मुख्य उद्देश्य हो‘, यस्तो खबर पाएपछि कोलकाता पुलिसको एसटीएफ सक्रिय भएको छ। पुलिस टोलीले राजभवन र संग्रहालयमा अनुसन्धान गरिरहेको छ। सम्पूर्ण क्षेत्रलाई कडा सुरक्षामा राखिएको छ। पुलिसले कुन इमेल आईडीबाट मेल पठाएको हो भन्ने पत्ता लगाउने प्रयास गरिरहेको छ। यो धम्कीपूर्ण इमेल हावडाको एक सरकारी कार्यालयमा पनि पठाइएको थाहा भएको छ। स्रोतका अनुसार सबै मेल एउटै इमेल आईडीबाट पठाइएको थियो।