खरसाङ: शब्द समयको १२९औं प्रकरण सालबारीस्थित सयपत्री सङ्घको प्रेक्षागृहमा सम्पन्न भयो। सभाको शुभारम्भ डा सञ्जय बान्तवाको वक्तव्यद्वारा गरिएको थियो। आफ्नो वक्तव्यमा डा बान्तवाले २०२४ मा प्रकाशित दीपक सुवेदीद्वारा लिखित पुस्तक ‘हडकडको नेपाली साहित्य र अन्य समालोचना’ तथा क्रिस्टोफर मार्लोको अङ्ग्रेजी नाटक ‘डॉक्टर फाउस्टस’ को जीत सुनारद्वारा नेपालीमा अनुदित र २०२४ मा प्रकाशित पुस्तक ‘डॉक्टर फाउस्टस’ बारे सङ्क्षिप्त प्रकाश पारेका थिए। उनले भने, ‘७० को दसकतिर मनग्गे पत्र-पत्रिका प्रकाशित हुने गर्थे तर ‘९० को दसकपछि पत्र-पत्रिकाको प्रकाशन लुप्त प्रायः भइसकेको बताए। यस्तो अवस्थामा ‘शब्द समय’ले साहित्यिक अभिव्यक्तिका लागि जुन चाहिँ मञ्च दिएको छ त्यो अति नै प्रशंसनीय छ।’
कार्यक्रममा रचना पाठको क्रममा भविलाल लामिछाने, टंक शर्मा, मिलन रुचाल, ज्ञानेन्द्र खतिवडा, राजा पुनियानी, कप्तान महेशकुमार सुब्बा, गंगा प्रधान, पूर्ण मगरले कविता पाठ गरेर सुनाए भने कविता भट्टराई अधिकारीले नीति कविता सुमधुर स्वरमा गाएर सभागृहलाई मन्त्रमुग्ध पारिन्। फेरि देविका मग्रांती, मणिकुमार प्रधान र जीतबहादुर सुनारले आआफ्नो लघुकथा वाचन गरेर सुनाए। त्यसपछि शब्द समयमा पहिलोपल्ट आएका नरेश शाहीले आफ्नो छोटो परिचयात्मक वक्तव्य राखे। शब्द समयको परम्परा अनुसार पहिलोपल्ट आउने स्रष्टा नरेश शाहीलाई राजनीतिक चिन्तक डीएस बम्जनको बाहुलीबाट खादार्पण गरियो।लसभाको अन्तिम चरणमा हालै दिवंगत भएका बाल साहित्य स्रष्टा शिशुपाल शर्मा र साहित्यकार राजकुमार प्रधानको स्मृतिमा शोक प्रकट गर्दै एक मिनटको मौन धारण गरियो।
अन्त्यमा कवि ज्ञानेन्द्र खतिवडाले आफ्नो समापन वक्तव्यपछि धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन भएको घोषणा गरे। यसरी शब्द समयको अझै एउटा प्रकरण सुचारु रूपले सम्पन्न भयो।








