नयाँ दिल्ली: प्रतीक्षाको अन्त भयो। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले यस साल हुने टी२० वर्ल्ड कपको निम्ति भारतीय टीमको घोषणा गऱ्यो। रोहित शर्मा टीमको कप्तान हुनेछन् जबकि खराब फर्मसँग जुझिरहेका अलराउण्डर हार्दिक पाण्ड्यालाई उपकप्तान बनाइएको छ। टीममा केएल राहुल र शुभमन गिल जस्ता खेलाड़ीले स्थान पाएका छैनन् जबकि रिषभ पन्त र सञ्जु सेमसनको रूपमा दुईजना विकेटकीपर रहेका छन्। रोहितसँग ओपिनंग गर्न यशस्वी जयसवाल रहेका छन् जबकि विराट कोहलीले तेस्रो स्थानमा ब्याटिंग गर्नेछन्। आईपीएल २०२४-मा कप्तान र खेलाड़ीको रूपमा प्रदर्शनलाई ध्यानमा राखेर हार्दिकको चयन मुश्किल लागिरहेको थियो तर अजीत अगरकरको अध्यक्षतामा रहने चयन समितिले अन्तमा गएर यस स्टार अलराउण्डरमाथि भरोसा देखायो। भारतीय टीममा अलराउण्डर शिवम दुबे र लेग स्पिनर युजवेन्द्र चहलले पनि स्थान पाएका छन्। चहल लामो समयदेखि भारतीय टी२० टीमबाट बाहिर रहेका थिए तर आईपीएलको जारी सीजनमा असल प्रदर्शनले गर्दा उनलाई टीममा राखिएको छ। चहलसँग स्पिन आक्रमण सम्हाल्न टीममा कुलदीप यादव, रविन्द्र जडेजा र अक्षर पटेल रहेका छन्। भारतीय पेस आक्रमणमा तीनजना विशेषज्ञ बलरको रूपमा जसप्रीत बुमराह, मोहम्मद सिराज र अर्शदीप सिंह रहेका छन्। यसबाहेक हार्दिक र दुबेले पनि वर्ल्ड कपमा हात घुमाउन सक्छन्। चयनकर्ताहरूले टी२० वर्ल्ड कपको निम्ति रिजर्व खेलाड़ीहरूका रूपमा शुभमन गिल, रिंकू सिंह, खलील अहमद र अवेश खानको चयन गरेको छ। आईसीसी टी२० वर्ल्ड कपको आयोजन अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनमा हुनेछ। उद्घाटन म्याच १ जूनमा खेलिनेछ। भारतले आफ्नो अभियानको शुरुवात ५ जूनमा आयरल्याण्ड विरुद्ध गर्नेछ। म्याच न्यूयोर्कको नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलिनेछ। त्यसपछि त्यही स्थानमा ९ जूनमा पाकिस्तान विरुद्ध म्याच रहेको छ। भारतले पछिबाट १२ र १५ जूनमा क्रमशः अमेरिका र कनाडा विरुद्ध खेल्नेछ।
भारतीय १५ सदस्यीय टीमः
रोहित शर्मा (कप्तान), यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, रिषभ पन्त, सञ्जु सेमसन, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रीत बुमराह, मोहम्मद सिराज।
रिजर्व खेलाड़ीः शुभमन गिल, रिंकू सिंह, खलील अहमद र अवेश खान।








