अमेरिका र इंग्ल्याण्डले अफ्रिकी देश बुर्किनाफासोमा सरकारी सेनाले गरेको नागरिक नरसंहारको निन्दा गरेका छन्। ह्युमन राइट्स वाचको प्रतिवेदन अनुसार बुर्किनाफासोको याटेंगा प्रान्तको नोन्डिन र सोरो गाउँमा ५६ बालबालिकासहित कम्तिमा २२३ जनाको सेनाले हत्या गरेको उल्लेख छ। उक्त प्रतिवेदनप्रति चिन्ता व्यक्त गर्दै अमेरिका र इंग्ल्याण्डले घटनाको सत्यतथ्य जाँच गरेर घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न पनि माग गरेको छ। बुर्किनाफासोमा पछिल्लो समय चलेको द्वन्द्वका कारण झण्डे २० लाख मानिस विस्थापित भएका छन्।
सन् २०२२ मा भएको सैनिक विद्रोहपछि देशको अवस्था नाजुक बन्दै गएको हो। बुर्किनाफासोमा अल–कायदा र आईएसआईएस आतंककारी संगठनहरू सक्रिय छन्। सेना र यी संगठनहरूबीचको द्वन्द्वमा प्रायः सर्वसाधारणको ज्यान जाने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। सन् २०१५ देखि अवस्था बिग्रँदै गएको थियो भने २०२२ मा देशको कार्यवाहक राष्ट्रपतिबाट सैन्य नेता पाउल–हेनरी सान्डाओगो दामिबालाई हटाएपछि अवस्था झन् नराम्ररी बिग्रिएको छ। बुर्किना फासोले विद्रोही विरुद्धको लडाईमा सेनाले सर्वसाधारण मारेको आरोप लगाएको रिपोर्ट प्रसारण गरेपछि बीबीसी र भ्वाइस अफ अमेरिका रेडियो नेटवर्क जस्ता अन्तर्राष्ट्रिय मिडियालाई प्रतिबन्ध पनि लगाएको छ।









