सिलगढी: नक्कली लॉटरी लिएर जितेकाे पुरस्कार लिन आएका माथाभाङ्गाका दुई जनालाई लॉटरी व्यवसायीले रंगेहात पक्राउ गरी पुलिसलाई बुझाएको छ। आइतबार साँझ चम्पासरीको सर्किट हाउस नजिकै माथाभाङ्गाका दुई युवकले नक्कली लॉटरीको जेरोक्स ल्याएको बताइएको छ। जसमा विजेताको पुरस्कार १० हजार रुपियाँ राखिएको थियो। उनीहरु लॉटरी व्यवसायीसँग पैसा माग्न यो लॉटरी लिएर आएका थिए। तर लॉटरी व्यवसायीले लॉटरी देखेपछि सबै बुझे र दुवैलाई पक्रेर प्रधाननगर पुलिसलाई खबर गरे। खबर पाएलगत्तै पुलिस घटनास्थल पुगेर ठगी गरेको आरोपमा दुवैलाई पक्राउ गरे। अभियुक्तहरुको नाम गणेश बर्मन र जयदेव महन्ता हुन्। सिलगढीमा यस प्रकारका धेरै गिरोहहरु चलिरहेको छ, जो नक्कली लॉटरी देखाएर जित्ने पुरस्कार लैजाने गर्छन् भनी लॉटरी व्यवसायीहरु बताए। यसअघि सिलगढीमा तीन लॉटरी व्यवसायीलाई नक्कली लॉटरी देखाएर ४० हजार रुपियाँ ठगी गरिएको थियो। हिजो पनि यस्तै ठगी गर्न दुई युवा आएका थिए तर लॉटरी व्यवसायीले समाते। लटरी व्यवसायीले दुवैविरुद्ध पुलिस थानामा लिखित उजुरी दिएका छन्।

आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान गरिरहेको छ।