विल ज्याकको अविजित शतकले आरसीबी-को लगातार दोस्रो जीत

IMG-20240428-WA0208.jpg

अहमदाबाद: आईपीएल २०२४-को ४५औं म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले गुजरात टाइटन्स विरुद्ध ९ विकेटले एकतर्फी जीत हासिल गऱ्यो। विल ज्याक (अविजित १००)-को विध्वंशी शतक अनि विराट कोहली (अविजित ७०) -सँग उनको शतकीय पार्टनरशीपको सहायताले आरसीबी-ले मुश्किल लागिरहेको लक्ष्यलाई पनि सजिलै हासिल गऱ्यो। आरसीबी-ले १० वटा म्याचमा ६ पोइण्ट्सको साथ प्लेअफ्-मा स्थान बनाउने सम्भावनालाई जीवित राख्यो। सातौं स्थानमा रहने गुजरात टाइटन्ससँग चाहिँ ८ पोइण्ट्स रहेको छ। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ३ विकेटमा २०० रन बनायो। त्यसपछि आरसीबी-ले पनि आक्रामक ब्याटिंग गर्दै १६ ओभरमै केवल एक विकेटमा २०६ रन बनाएर सजिलै म्याच जित्यो। आरसीबी-ले आज एकमात्र विकेटको रूपमा कप्तान फाफ डू प्लेसिस (१२ बलमा २४ रन)-लाई गुमायो, जसलाई साई किशोरले आउट गरे। केवल ४० रनमा कप्तानलाई गुमाएपछि कोहलीले विल ज्याकलाई लिएर मोर्चा सम्हाले अनि यी दुईले मिलेर दोस्रो विकेटको निम्ति केवल ७४ बलमा १६६ रनको अटूट पार्टनरशीप गरे। अन्तमा ज्याकले ईनिंग्सको १६औं ओभरमा राशिद खानको बलिंगमा ४ वटा छक्का र एउटा चौकाको साथ २९ रन बनाएर आरसीबी-लाई जीत दिलाए। ज्याकले ४१ बल खेलेर जम्मा १० वटा छक्का र ५ वटा चौका लगाए। यसरी कोहलीले ४४ बल खेलेर ६ वटा चौका र ३ वटा छक्का लगाए। यसअघि म्याचमा पहिला ब्याटिंग गर्दै गुजरातको शुरुवात निराशाजनक रह्यो अनि ४५ रनसम्म रिद्धिमान साहा (५) र शुभमन गिल (१६) पभेलियन पुगिसकेका थिए। त्यहाँबाट साई सुदर्शनले शाहरुख खानसँग मिलेर टीमलाई बचाउने जिम्मेवारी लिएर उत्कृष्ट ब्याटिंग गरे। यी दुईले तेस्रो विकेटको निम्ति ८६ रनको पार्टनरशीप गरे। शाहरूख खान ५ वटा छक्का र ३ वटा चौकाको साथ ३० बलमा ५८ रन बनाएर आउट भए। यसरी १३१ रनमा तेस्रो विकेटको पतनपछि साई सुदर्शनले डेविड मिलरसँग मिलेर टीमलाई २००-को स्कोरसम्म पुऱ्याए। सुदर्शनले ८ वटा चौका र ४ वटा छक्काको साथ ४९ बल खेलेर अविजित ८४ रन बनाए। मिलर २६ रनमा अविजित रहे। विल ज्याकले उत्कृष्ट शतकको निम्ति प्लेयर अव् द म्याचको पुरस्कार जिते।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *