गान्तोक: सोरेङ जिल्लाको साङदा दोर्जी ग्राम पञ्चायत यूनिटमा हिजो पशुहरूमा लाग्ने रोगबारे एक दिवसीय व्लकस्तरीय सचेतना कार्यक्रम सहित बाछो ऱ्याली आयोजना गरियो। विश्व पशु चिकित्सा दिवसको अवसरमा साङगा दोर्जी ग्राम पञ्चायत यूनिट अन्तर्गत हाथी ढुङ्गा सरकारी माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित यस कार्यक्रममा साङगा दोर्जी ग्राम पञ्चायत यूनिटका पञ्चायत अध्यक्ष किशोर थापा, विभागक अतिरिक्त निर्देशक लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। यस अवसरमा ७० जना भन्दा अधिक कृषकहरूले सहभागिता जनाएका थिए, जसमा ३१ वटा बाछोहरू प्रदर्शनको निम्ति ल्याइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै पञ्चायत अध्यक्ष किशोर थापाले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा विभागलाई धन्यवाद दिए। उनले विभागद्वारा कृषकहरूको विकास साथै हितमा आयोजना गरिने कार्यक्रममा अधिक भन्दा अधिक कृषकहरूले सहभागिता जनाउनु पर्ने सुझाउ दिए। यस प्रकारको कार्यक्रम आयोजना गर्नाले कृषकहरूलाई सबै भन्दा बेसा लाभ पुग्ने जानकारी गराए। सोही प्रकारले विभागका अतिरिक्त निर्देशकले विश्व पशु चिकित्सा दिवसको महत्वबारे अवगत गराए।उनले विभागका विभिन्न योजना र कार्यक्रम जस्तै पीपीआइएस, विभिन्न पशु रोग विरुद्ध खोप अभियान, पशुगणना लगायत अन्यबारेमा पनि जानकारी दिए। उनले बाछो र्यालीमा सहभागी हुने सबैको प्रशंसा गरे। यसका साथै उनले कृषकलाई राम्रो पशुपालन गर्न प्रोत्साहनको रूपमा यस्ता कार्यक्रमहरू आयोजना गर्नुको महत्त्वबारे जोर दिए। यस प्रकारको कार्यक्रम आगामी दिनहरूमा दुर्गम क्षेत्रहरूमा पनि आयोजना गरिने उनले जानकारी गराए।