नयाँ दिल्ली: आईसीसी क्रिकेट विश्वकप २०११ मा भारतलाई च्याम्पियन बनाउने प्रशिक्षक अब छिट्टै पाकिस्तानको टोलीमा देखिने भएका छन्। सन् २०२४ को टी–२० विश्वकपअघि पाकिस्तानी क्रिकेट टोलीमा दुई ठूलो परिवर्तन भएको छ। टोलीले कुनै न कुनै रूपमा विश्व च्याम्पियन टोलीको हिस्सा भइसकेका दुई जनालाई आफ्नो प्रशिक्षकमा नियुक्त गरेको छ। पाकिस्तानले सीमित ओभर र रेड बल क्रिकेटका लागि छुट्टाछुट्टै प्रशिक्षक नियुक्त गरेको छ। पीसीबीले दक्षिण अफ्रिकाका ग्यारी कर्स्टनलाई सीमित ओभर र अष्ट्रेलियाका पूर्व फास्ट बलर जेसन गिलेस्पीलाई टेस्ट फर्म्याटका लागि प्रशिक्षक नियुक्त गरेको छ। स्मरण रहोस्, ग्यारी कर्स्टनको नेतृत्वमा टीम इण्डिया २०११ को विश्व च्याम्पियन बनेको थियो।
ग्यारी कर्स्टनले भारत र दक्षिण अफ्रिका टिमका प्रशिक्षकको भूमिका निर्वाह गरेका छन्। यस बाहेक उनी आईपीएलमा धेरै टिमको प्रशिक्षक पनि रहेका छन्। आईपीएल २०१८ मा, उनी रोयल च्यालेन्जर्स बैंगलोरको ब्याटिङ कोच थिए, तर अर्को वर्ष उनलाई आरसीबीले मुख्य प्रशिक्षक बनाएको थियो, तर त्यसपछि २ वर्षको ब्रेक लिएlउनी २०२२ मा गुजरात टाइटन्समा ब्याटिङ कोच र मेन्टरको रूपमा सामेल भए। गुजरात टाइटन्सले पहिलो सिजनमा आईपीएलको उपाधि जितेको थियो। कर्स्टन अझै पनि यो टोलीको एक हिस्सा रहन्छ। अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट जेसन गिलेस्पीले प्रतिनिधित्व गरेका छन्। उनले अष्ट्रेलियाका लागि ७१ टेस्ट खेल खेल्दै २५९ विकेट लिएका थिए। उनले अष्ट्रेलियाली टोलीका लागि ९७ ओडीआई खेल खेलेका थिए जसमा उनले १४२ विकेट लिएका थिए। न्यूजिल्याण्ड विरुद्धको सिरिजमा अजहर महमूदलाई पाकिस्तानी टिमको अस्थायी प्रशिक्षक नियुक्त गरिएको थियो। यद्यपी महमूदले सीमित ओभरका अतिरिक्त टेष्ट ढाँचामा पनि पाकिस्तानी टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरिरहने खबर बाहिर आएको छ।