दार्जीलिङ: प्रजातान्त्रिक उत्सवको समापन ४ जूनमा गर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) अध्यक्ष तथा जीटीए मुख्य कार्यपाल अनित थापाले एक प्रेस विज्ञप्तिमा बताएका छन्। ‘यस उत्सवमा भाग लिनु हुने सबैलाई धन्यवाद’, अनित थापाले विज्ञप्तिमा भनेका छन्। पहाडका ७ लाख मतदाता मध्ये ७३.६४% मतदाताले हिजो २६ अप्रेलको दिन आफ्नो मताधिकार प्रयोग गरेको उनले बताएका छन्। उनले भने, ‘पहाडमा शान्तिमय तरिकाले चुनाव सम्पन्न भयो। हामीले पहाडमा स्थापना गरेको प्रजातन्त्र, सकारात्मकता, शान्तिको प्रमाण हिज (२६ अप्रेल) स्पष्ट अनुभव गर्न पायौं। यही हो हाम्रो प्रजातान्त्रिक उपलब्धि। पहाडले सुख, शान्ति र समृद्धि खोज्छ भन्ने प्रमाण पनि यही हो। पहाडले केवल मतदान गरेन तर धेरै दिनहरू अघि देखि नै प्रजातन्त्रको उत्सव मनायो। यस उत्सवको समापन आगामी ४ जूनको दिन हुनेछ।‘
‘पहाडका सम्पूर्ण मतदातालाई म धन्यवाद दिनु चाहन्छु। लामो समय सम्म लाइनमा उभिएर पनि भारतको संविधानले दिएको मताधिकारलाई जोश देखाएर तपाईहरूले मतदानको प्रयोग गरेर केवल आफ्नो मनपर्दो उम्मेदवारलाई मतदान दिनु भएन तर क्षेत्रको भाग्य अनि भविष्य निर्माण गर्न नै मतदानको प्रयोग गर्नुभयो’, उनले भनेl विज्ञप्तिमा उनले अझ भनेका छन्, ‘म मेरा पार्टीका कार्यकर्ताहरूलाई धन्यवाद दिनु चाहन्छु। पार्टीको अस्तित्व नेताको कारण मात्र होइन मैदानमा खटने कार्यकर्ताको कारण पनि हो। हर घरमा गोपाल लामा सरलाई चिनाउनु जुन अभियानमा लाग्नु भयो, अति नै सराहनीय छ। बुथ व्यवस्थापन देखि असल प्रचार प्रसारको कार्यको कारण नै मतदाताहरूले एक नम्बरमा भोट हालेका हुन्। उक्साहटलाई नजरअन्दाज गरेर प्रजातान्त्रिक मोर्चाको संस्कार देखाई दिनुभयो। पार्टीले तपाईहरुको योगदान सदैव याद राख्नेछ।‘ उनले पार्टीका केन्द्रीय नेतृत्वदेखि बुथ स्तरसम्मका सम्पूर्ण नेतृत्वगण, चुनाव आयोग, जिल्ला प्रशासन, पुलिस प्रशासन, केन्द्रीय वाहिनी प्रति आभार प्रकट गर्दै लाई धन्यवाद जनाएका छन्। पहाडका मिडिया, समाचार पत्रपत्रिकालाई पनि धन्यवाद जनाउँदै समाजको चौथो स्तभ अझ सशक्त बनेर जाओस् भन्ने शुभकामना जनाएका छन्।
विज्ञप्तिको अन्त्यमा उनले यसो भनेका छन्, ‘हामीले पहाडको निम्ति जुन भिजन लिएर अघि बढेका छौं, हामी त्यो भिजन प्राप्ति गर्न क्रमबद्द तरिकाले अघि बढी रहेका छौं। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा विभाजन गर्ने शक्तिको विरोधमा सदैव ढाल भएर उभिने छ। क्षेत्रीयता अनि क्षेत्रीय राजनीति हाम्रो अस्त्र हो। हाम्रो शक्ति हो। हाम्रो शक्तिको सुरक्षा हामी गरिरहने छौ। ४ जूनमा पहाडले नयाँ इतिहास अवश्य देख्नु पाउनेछ। क्षेत्रीयता अनि जनताको शक्ति सबैले महसुस गर्नेछन्। हाम्रो सोच, व्यक्ति विकासदेखि लिएर क्षेत्रीय विकासलाई समेटेर हिँड्नुमा रहेको छ। हामी प्रजातान्त्रिक हौ अनि प्रजातन्त्रको बहालीमा विश्वास राख्छौ।‘