गान्तोकमा डाउन टाउन युनिभर्सिटीद्वारा उत्तर पूर्व शिक्षक सम्मेलन सम्पन्न

IMG-20240426-WA0255.jpg

गान्तोक: असम डाउन टाउन युनिभर्सिटीले ‘शिक्षामा बौद्धिक सम्पदा अधिकार’विषयमाथि राजधानी गान्तोकमा ‘उत्तर पूर्व शिक्षक सम्मेलन’ सिक्किम च्याप्टर आयोजन गरेको छ। सिक्किम सरकारको शिक्षा विभागका उच्च शिक्षा निर्देशक भीम ठटाल विशेष अतिथि रहेको सम्मेलनमा शिक्षा विभागका प्रधान निर्देशक सोनाम डेञ्जोङ्पा र राज्यभरिका सरकारी तथा निजी संस्थानका शिक्षकहरूको उपस्थिति रहेको थियो।

मेकानिकल इञ्जिनियरिङका एसोसिएट प्रोफेसर तथा इनोभेसन एण्ड आईपीआरका एसोसिएट डाइरेक्टर डा. मानश जे बोराहले नवप्रवर्तन, सिर्जनशीलतालाई प्रोत्साहन गर्ने तथा दिगो जीविकोपार्जनका लागि अवधारणा, विचार, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बौद्धिक सम्पदा अधिकार (आईपीआर) सम्बन्धी प्रस्तुति दिए। उनले २६ अप्रेललाई आईपीआर दिवसका रूपमा मनाइने र आईपीआरको अवसरमा सम्मेलन हुनु सौभाग्यको विषय रहेको बताए।

“आईपीआर विद्यमान छ र इनोभेसन प्रारम्भ भइरहेको छ, तर हामीसँग नवाचारको पञ्जीकरण वा पेटेन्टिङको कमी छ। नवप्रवर्तन र रचनात्मकताको पञ्जीकरण ग्रीसबाट ५०० ईसा पूर्वदेखि शुरु भयो र युरोपमा यो १७औँ शताब्दीबाट शुरु भयो। पञ्जीकरण वा पेटेन्टको विचार पश्चिमबाट शुरु भएको हो र हामीले पनि आईपीआरमा सचेतना जगाउने बेला आएको छ, ताकि विद्यार्थी, युवा, उद्यमीहरूको नवोन्मेषी वा आविष्कार, सिर्जनशीलतालाई वैचारिक रूपमा आईपीआरसँग जोडिएका अधिकार, फाइदाहरू उपभोग गर्न सकुन्”-उनले विश्वमा सबैभन्दा बढी पञ्जीकरण, पेटेन्टिङ गर्ने कुनै पनि आविष्कार चीनमा भएको जानकारी दिँदै भने।

सम्मेलनको नेतृत्व मेकानिकल इञ्जिनियरिङका एसोसिएट प्रोफेसर तथा युनिभर्सिटीका इनोभेसन एण्ड आईपीआरका एसोसिएट डाइरेक्टर डा. मानश जे बोराहले गरे। उनले प्राविधिक तथा कलात्मक प्रगति परिदृश्यमा तिनीहरूको महत्त्वमाथि प्रकाश पार्दै बौद्धिक सम्पदा अधिकारहरूले कसरी नयाँ विचार र आविष्कारहरूको संरक्षण र सुरक्षा गर्न सक्छन् भन्नेबारे आफ्नो गहिरो ज्ञान साझा गरे।

उल्लेखनीय छ, असम डाउन टाउन युनिभर्सिटीले लगभग १२१ पेटेन्ट फाइल गरेको छ। अहिलेसम्म केवल तीन आविष्कार रचनात्मकताले आईपीआर प्राप्त गरेको छ। आईपीआर २० वर्षको अवधिको लागि आविष्कारक, सिर्जनाकर्तालाई जारी गरिन्छ र २० वर्षपछि आईपीआर नवीकरण गर्न सकिन्छ।

“पेटेन्ट भनेको सरकार र निर्माताबीचको सम्झौता हो। समाजको लागि उपयोगी वस्तुहरू पेटेन्ट गरिएको छ। उपर्युक्त कुनै पनि प्रक्रिया, पदार्थको संरचना, निर्माण प्रविधि, उपयोगी र नयाँ सुधार पेटेन्ट योग्य छ। आविष्कारको उपयोगिता, आविष्कारको पेटेन्टिङको लागि सिर्जना आवश्यक छ। परम्परागत ज्ञान पेटेन्ट योग्य छैन”-डा. बोहराले थपे। उनले आईपीआर अन्तर्गत प्रतिलिपि अधिकार, ट्रेड मार्क, जीआई ट्यागिङजस्ता अधिकारहरू पनि समावेश गरिएको जानकारी दिए।

“सम्मेलनको उद्देश्य शिक्षकहरूबीच चेतना जगाउनु हो किनभने उनीहरू उत्प्रेरक हुन्, जसले इच्छुक विद्यार्थीहरूबीच ज्ञान बाँडेर भविष्यका लागि तयार पार्छन्। हामी शिक्षकहरूले आफ्ना विद्यार्थी, आईपीआरमा युवाहरू, यसको फाइदा र प्रयोगमा प्रोत्साहित गर्न चाहन्छौँ। देशभरिमा धेरै नवप्रवर्तन, निर्माताहरू छन् तर जागरूकताको अभावका कारण धेरै उत्कृष्ट विचार, नवप्रवर्तनहरूलाई पञ्जीकरण गरिएको छैन, जसले गर्दा नवप्रवर्तनलाई कुनै लाभ मिल्न सकेको छैन वा सीमित लाभ मात्र प्राप्त हुन्छ”-उनले भने। सम्मेलनमा खुल्ला गृह चर्चा भएको थियो, जसमा धेरै विद्यालयका प्रधानाध्यापक, शिक्षकहरूले आईपीआरमा आफ्ना जिज्ञासा राखे, जसलाई डा. मानश जे बोराहले सम्बोधन गरे।

यसअघि कार्यक्रमलाई असम डाउन टाउन युनिभर्सिटीकी विपणन अधिकारी लक्ष्मी श्रेष्ठले पनि सम्बोधन गरिन्। उनले युनिभर्सिटीले उत्तर पूर्वी राज्यहरूमा यस्तै सम्मेलन आयोजना गर्दै आएको जानकारी गराउँदै यसरी उनीहरूले विश्वविद्यालयलाई सहयोग गरेकोमा राज्यहरूप्रति कृतज्ञता व्यक्त गरिन्। “सम्मेलन आयोजन गरेर हामी शिक्षकहरूलाई उनीहरूको आविष्कारमा विद्यार्थीलाई प्रोत्साहन, समर्थन गर्न र उनीहरूलाई आफ्नो आविष्कारसँग जोडिएका सही फाइदा दिलाएर उनीहरूको रचनात्मकता पञ्जीकरण गर्न मद्दत गर्न चाहन्छौँ”-श्रेष्ठले भनिन्। सम्मेलनमा विश्वविद्यालयको एडमिशन एण्ड आउटरिचका सहायक प्रबन्धक इन्द्रनील सरकार नाथ र असम डाउन टाउन युनिभर्सिटीका अधिकारी र कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *