गान्तोक। केन्द्रिय युवा मामिला तथा खेलकूद मन्त्रालय अन्तर्गत नेहरू युवा केन्द्र सङ्गठनले (एनवाईकेएस) आजादीको अमृत महोत्सव पालन गर्ने क्रममा हर घर तिरङ्गा आयोजन गरिरहेको छ। अभियान अन्तर्गत नेहरू युवा केन्द्र सङ्गठनले आफ्नो २.५ लाख युवा क्लब, १२ हजार राष्ट्रुय युवा स्वयंसेवक, ६२३ जिल्ला कार्यालय अनि २९ राज्य कार्यालयका साथमा ६ वटा आञ्चलिक कार्यालयको माध्यमद्वारा ग्रामीण परिवारलाई ध्यानमा राख्दै, भारतका पाँच करोडभन्दा धेरै परिवारलाई आफ्नो घरमा तिरङ्गा फहराउन प्रेरित गर्ने प्रक्रिया चलाएको छ।
अभियानलाई जनमुखी बनाउनका साथै जनमानसमा राष्ट्रभक्तिको भावना भर्न, प्रत्येक युवा क्लबलाई कम्तिको पनि दुई सय घर पुगेर देशको ७५औं स्वतन्त्रता दिवसको अवसरमा तिरङ्गा फहराउन प्रोत्साहित गर्ने अभिभारा दिइएको छ।
पाँच करोड परिवारसम्म तिरङ्गा पुऱ्याउने यस अभियानलाई सफल बनाउन नेहरू युवा केनद्रले प्रभात फेरी, देशभक्ति गीत, हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्त्व कला, चित्रकला अनि फोटोग्राफी प्रतियोगिता पनि आयोजन गरिरहेको छ। यसका साथै युवा अनि समूहलाई पृष्ठभूमिमा तिरङ्गा राखी सुन्दर अनि ऐतिहासिक साथै सांस्कृतिक महत्त्व बोक्ने स्थलहरूमा तस्वीर खिचेर पोस्ट गर्न पनि नेहरू युवा केन्द्रले आग्रह गरिरहेको छ।
सिक्किममा एनवाईके गान्तोकले, पूर्व जिल्लाको सबै खण्डमा प्रेरित राष्ट्रिय युवा स्वयंसेवी अनि युवा क्लबहरूको माध्यमद्वारा यस अभियानलाई अघि बढाइरहेको छ। युवा क्लबहरूलाई सुदृढ बनाउन ४ देखि ११ अगस्तरसम्म गान्तोक, रिनाक र पाकिममा युवा क्लब विकास कार्यक्रम पनि आयोजन गरिरहेको छ।
यसका साथै स्वच्छताको सन्देश प्रसारित गर्न १ देखि १५ अगस्तसम्म व्यापक स्वच्छता कार्यक्रम पनि नेहरू युवा केन्द्र, गान्तोकले आयोजन गरिरहेको छ।