कालचिनी: जयगाउँ स्थित ननी भट्टाचार्य स्मारक महाविद्यालयमा शनिबार अखिल भारतीय आदिवासी विकास परिषद जयगाउँ दलसिंहपाड़ा यूनिटको आयोजनामा विद्यार्थीहरुको भविष्य लिएर निःशुल्क क्यारियर काउन्सिलिङ शिविर कार्यक्रम सम्पन्न गरिएको जानकारी आयोजक कमिटीको पक्षबाट आविप कालचिनी ब्लक क्षेत्रीय महासचिव सुजीत महली र आविप जयगाउँ दलसिंहपाड़ा यूनिटका मदन कुमार उराँवले संयुक्त रुपमा जनाएका छन्।
आज उक्त शिविरमा मुख्य अतिथिको रुपमा अभाआविप राज्य महासचिव तेजकुमार टोप्पो लगायत आविप अलिपुरद्वार जिल्ला सभापति बाबलु लाकड़ा, कलेजका सहायक प्रोफेसर मोहम्मदुल हुसैन, पीटीडब्लूयूका भाइस चेयरम्यान दुर्गा तिर्की महली, अधिवक्ता नवीन केरकेट्टा, समाजसेवी जयप्रकाश तिग्गा, नवसान बेग, जयगाउँ थाना प्रभारी एवम् अन्यान्यको उपस्थिति रहेको थियो। शिविरमा स्वागत भाषण प्रोफेसर निलीमा बारला कुजूरले राखेपछि क्यारियर काउन्सिलिङका विषयवस्तुहरुमाथि प्रत्येकले आ-आफ्नो विषयहरुमा कुरा राखेको थियो। मूलतः विद्यार्थीहरुको भविष्य लिएर समाज गम्भीर बन्नु आवश्यक रहेकोले आज जयगाउँ कलेजमा सबै समुदायको विद्यार्थीहरुलाई समेटेर उक्त क्यारियर काउन्सिलिङ शिविरको आयोजना गरिएको थियो। प्रायः ३०० भन्दा अधिक विद्यार्थीहरुले आज शिविरमा अंशग्रहण गरेको थियो भने आगामी दिनमा यस्तै वृहतरुपमा यस प्रकारको शिविरको पुनः आयोजना गरिने आयोजक कमिटीको पक्षबाट सुजीत महलीले थप जनाएका छन्।