रेलवेसित सम्बन्धित मुद्दाहरू बारे रेलमन्त्रीसित सांसद राजु बिष्टको चर्चा

0IMG-20220806-WA0133

 सिलगढी: सांसद राजु बिष्टले रेलमन्त्री अश्विनी वैष्णवलाई भेटेर दार्जीलिङ तथा उत्तर बङ्गाल क्षेत्रमा रेलवेसित सम्बन्धित मुद्दाहरूप्रति उनको ध्यानाकर्षण गरेको बताएका छन्। ‘हाम्रो क्षेत्र पूर्वोत्तर भारतको द्वारको रूपमा महत्त्वपूर्ण अवस्थितिमा पर्ने हुँदा, अनि यो क्षेत्र जोसित चार अन्तर्राष्ट्रिय सिमानाहरूसित जोड़िएको एकमात्र क्षेत्र भएको हुनाले यहाँ रेल सञ्जालको सुदृढ़ीकरण अत्यन्तै महत्त्वपूर्ण रहेको छ,’ उनले प्रेस विज्ञप्ति जारी गरेर यसरी बताएका छन्। मन्त्रीलाई सिलगढी उत्तर बङ्गालको आर्थिक राजधानी भएको हुँदा यो राज्यको सबैभन्दा महत्त्वपूर्ण शहरहरू मध्ये एक हो भन्ने जानकारी दिँदै सिलगढीलाई कोलकातासित जोड़्ने उच्च गतिको ‘वन्दे भारत’ रेल (अप/डाउन) शुरु गर्न, तथा न्यू जलपाईगढी रेलवे स्टेशनको समुन्नतिकरण कार्यलाई तीव्रता प्रदान गर्दै सबै किसिमका यात्रु सेवा तथा सुविधाहरू प्रदान गर्ने एउटा विश्व-स्तरीय स्टेशन बनाउन अनुरोध गरेको उनले बताएका छन्। 

‘उत्तर बङ्गालमा यथोचित चिकित्सा सेवाहरूको अभावका कारण हाम्रो क्षेत्रका हजारौँ जनता आफ्नो स्वास्थ्योपचार निम्ति कसरी तेलाङ्गनाको हैदराबाद, तमिलनाडुको चेन्नई र भेल्लोर, अनि कर्नाटकको बेङ्गलुरुतिर धाउन बाध्य छन् भन्ने तथ्यबाट पनि मैले मन्त्रीलाई अवगत गराउँदै सेवोक वा सिलगढीबाट शुरु हुनेगरि हैदराबाद, चेन्नई, कटापड़ी (भेल्लोर) र बेङ्गलुरुका लागि दक्षिण भारततिर जाने रेल सेवा शुरु गर्नका लागि पनि अनुरोध गरेको छु,’ उनले विज्ञप्तिमा बताएका छन्l विज्ञप्तिमा उनले अझ यसो भनेका छन्, ‘हाम्रो क्षेत्रका हजारौँ जनता अनि विद्यार्थीहरू दिल्लीमा बसोवास गर्दछन्, तथा उत्तर बङ्गाल पूर्वोत्तर भारतलाई शेष भारतसित जोड़्ने एक महत्त्वपूर्ण भौगोलिक अवस्थितिमा रहेको हुँदा, साथै यसका अन्तर्राष्ट्रिय सिमाना नेपाल, भुटान तथा बाङ्ग्लादेशसित जोड़िएको हुँदा यहाँबाट दैनन्दिन ठूलो संख्यामा मानिसहरूको ओहोर-दोहोर हुने गर्दछl  र ती मध्ये धेरैजस्ता दिल्लीतिरको यात्राका लागि आउँदछन्। तसर्थ, मैले सिलगढी/न्यू जलपाईगढीलाई दिल्लीसित जोड़्ने एउटा सुपरफास्ट एक्सप्रेस रेल गाडी यथाशीघ्र शुरु गर्ने अनुरोध गरेको छुl’

ऐतिहासिक सिलगढी टाउन रेलवे स्टेशनको यथोचित संरक्षण, सौन्दर्यकरण अनि रखरखावको कार्य शुरु गराउने अनुरोध उनले गरेको छन्l ‘मैले उहाँलाई रेलवे भूमिमा स्थानीयहरूको बस्तीसित सम्बन्धित मामिलाको पनि स्थायी समाधानमा मद्दत गर्न अनुरोध गरेको छु, ताकि अतिक्रमण अझ नबढ़ोस्, तर पहिले नै बसोवास गरिरहेकाहरूलाई राहत प्रदान गर्न सकियोस्। मैले रेलमन्त्री अश्विनीज्यूलाई “आजादी का अमृत” विरासत महोत्सवमा सिलगढी, दार्जीलिङ, सुकना, तीनधारे, खरसाङ अनि घूम रेलवे स्टेशनलाई पनि सामेल गर्ने अनुरोध गरेको छु,’ उनले बताएका छन्। दार्जीलिङ हिमालयन रेलवे (डीएचआर) बारे पनि चर्चा गरेको उनले विज्ञप्तिमा बताएका छन्l यस बारेमा उनले यसरी बताएका छन्, डीएचआर मानव परिकल्पना र कौशलको सर्वोत्तम उदाहरणहरू मध्ये एक हो अनि यसै विशेषताको कारण डीएचआर युनेस्कोको वर्ल्ड हेरिटेज स्टेटस पाउने प्रथम माउन्टेन रेलवे बनेको थियो। तसर्थ,  भावी पिँढ़ीको लागि यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो भन्दै मैले मन्त्रीसँग तीनधारे रेलवे वर्कशपको समुन्नतिकरण गरेर यसलाई स्टिम र डिजल इन्जिन दुवैका लागि न्यारो गेज लोको म्यानुफ्याक्चरिङ वर्कशपमा परिणत गर्ने अनुरोध गरेको छु। यो २ फीट न्यारो९ गेज लोकोको निर्माण गर्ने विश्वमा नै एकमात्र युनिट हुनेछ। मैले तीनधारेमा एउटा रेलवे अस्पतालको स्थापना गर्ने अनुरोध पनि गरेको छु जहाँ स्थानीय नागरिकहरूले मात्रै नभएर, उत्तर बङ्गाल र राष्ट्रभरका रेलवे स्टाफले स्वास्थ्योपचारको लाभ प्राप्त गर्न सक्नेछन्l’

दार्जीलिङ हिमालयन रेलवेमा स्टाफको अत्यधिक कमी प्रति मन्त्रीको ध्यानाकर्षण गराएर जतिसक्दो चाँड़ो रिक्त पदहरू भर्नका लागि अनुरोध गरेको उनले बताएका छन्। ‘डीएचआरको पर्यटनसित गहिरो नाता भएकोले दार्जीलिङ, घूम र खरसाङ रेलवे स्टेशनहरूको आधुनिकीकरण अनि देश-विदेशका पर्यटकहरू निम्ति बस्ने व्यवस्था, स्वास्थ्य सेवा, अनि सम्बन्धित अन्य सुविधाहरू उपलब्ध गराउने अनुरोध मैले गरेको छु। प्रतिष्ठित बतासे लूपलाई पर्यटन तथा सांस्कृतिक विरासत केन्द्रको रूपमा पुनर्विकास गर्ने अनुरोधसमेत मैले गरेको छु। सेवोक-रङ्पु रेल लाईनका साथ एउटा ट्राउमा सेन्टरको स्थापना गरिनु, अनि आईआरसीओएनद्वारा सेवोक-रङुपु रेल लाईनको वरिपरि बसोवास गर्ने ग्रामीणहरूलाई यथोचित क्षतिपूर्ति प्रदान गरिनु किन जरुरी छ भन्ने जानकारी पनि मैले उनलाई गराएको छु’, विज्ञप्तिमा उनले भनेका छन्l

भाषा बारेमा पनि चर्चा गरेको बताउँदै उनले यसरी बताएका छन्, ‘हाम्रो क्षेत्रमा रेलवेका साइनबोर्डहरू हाम्रो संविधानको आठौँ सूचीमा मान्यताप्राप्त नेपाली भाषालगायत स्थानीय भाषाहरूमा लेखियोस् भनी सुनिश्चित गर्न मैले अश्विनीज्यूलाई अनुरोध गरेको छु। मन्त्रीले मेरा अनुरोधहरूलाई पूरा गर्न भरसक्य प्रयास गर्ने आश्वासन दिँदै समयका साथै यी अनुरोधहरू पूरा गरिनेछन्, भन्नुभएको छl’

About Author

Advertisement