सिलगढी: आउँदोमई महिनामा सम्पन्न हुने बुद्ध ज्यन्ति पर्वलाई केन्द्र गरेर सिलगढी बुद्धिष्ट एसोसिएसनको सभा सम्पन्न भएको छ। २० मई देखि २३ मईसम्म विविध पूजापाठ गरेर गुरुङ नगरमा अवस्थित डोह ङाग छोई खोर्लिङ गुम्बामा यस वर्ष भव्यतासाथ २५६८औँ बुद्ध जयन्ती पालन गर्ने एसोसिएसनको बैठकले प्रस्ताव पारित गरेको छ। गत २० अप्रेलको दिन गुम्बा परिसरमा सम्पन्न भएको बैठकले बुद्ध जयन्ती समारोह पालनको लागि २५ जनाको आयोजक समिति पनि गठन गरेको छ। आयोजक समितिको संयोजकको पदमा गोपाल लामालाई चयन गरिएको एसोशिएसनको अध्यक्ष डीबी योञ्जनले जानकारी दिएका छन्। बैठक बारे जानकारी दिँदै अध्यक्ष योञ्जन भने, ‘हामीले प्रत्येक वर्ष नै धूमधामसँग बुद्ध जयन्ती पालन गर्दै आइरहेका छौँ। भक्तजन साथै टाढा टाढाबाट आएका श्रद्धालुहरूलाई सुविधा प्रदान गर्न यस चोटि पनि गुम्बा कमिटीले भएभरको व्यवस्थाहरू गर्नेछ। बुद्ध जयन्ती बौद्धधर्मीहरूको महान् पर्व हो। यस पर्वलाई सफलसाथ सम्पन्न गराउन हामी अहिलेदेखि नै योजना तयार गर्नमा लागि परेका छौँl’
गुरुङ नगरको डोह ङाग छोई खोर्लिङ गुम्बा सिलगढीको एक प्रमुख धार्मिक धरोहर हो। यहाँ प्राय: वर्षभरि नै कुनै न कुनै धार्मिक अनुष्ठानहरू हुने गरेको छ। २० मईदेखि २३ मईसम्म हुने बुद्ध जयन्ती समारोहमा पनि क्रमैले बुङ पाठ, तोरस्याम, काङ्गसो-छो पूजा, डोल्मा पूजा आदि सम्पन्न हुनेछ। समारोहको अन्तिम दिन भगवान् बुद्धको प्रतिमा (कु) र धर्म पुस्तक विशेष गरी महामान्य धर्मगुरु दलाई लामाको बाहुलीबाट प्रदान गरिएको पवित्र धर्म पुस्तक ‘काङग्युर’ सहित नगर परिक्रमा गराउने निश्चित छ। उक्त समारोहमा सम्पूर्ण महानुभाव लगायत विद्यार्थीहरूलाई उपस्थित भइदिने आग्रह गर्दै अध्यक्ष डीबी योञ्जनले भने, ‘आगामी ३ जूनको दिन छेतर पूजाको आयोजना गरिएको छ। उक्त पूजामा भाग लिन भक्तजनहरूलाई गुम्बा समितिसँग सम्पर्क गरिदिने हार्दिक अनुरोध गर्छु।‘